मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।
सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा बुधबार भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएको कांग्रेस नेताहरूले बताएका छन्।
झडपपछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ।
घटनाबारे कांग्रेसभित्रै एक पक्षले अर्को पक्षमाथि नियोजित रूपमा आक्रमण गराएको आरोप लगाएको छ भने क्षेत्रीय सभापति देवराज तामाङले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन्।
क्षेत्रीय अधिवेशनका लागि सिग्देल प्रतिष्ठानमा कार्यक्रम राखिएको थियो। क्षेत्रीय सभापति तामाङले निर्वाचन समितिलाई पत्र पठाएर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने तयारी गरिएको कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले बताइन्।
संग्रौलाका अनुसार आफूलाई पनि तामाङले कार्यक्रमको उद्घाटनका लागि बोलाएका थिए। त्यसपछि निर्वाचनको मनोनयन प्रक्रिया सुरु गर्ने तयारी थियो।
तर, आफू कार्यक्रमस्थल पुग्ने क्रममा केही व्यक्ति हातमा फलामका रडसहित आएको र विवादका क्रममा तवदार लगायतमाथि आक्रमण भएको संग्रौलाको आरोप छ।
‘क्षेत्रीय सभापतिले आफैं बोलाएको अधिवेशन हो। आफैंले दिएको निवेदनअनुसार निर्वाचन आयोग बसेर प्रक्रिया सुरु गर्ने क्रममा वरिपरि रक्सी खाएका मान्छे र फलामका रड लिएर आएर सबैमाथि आक्रमण गराउनु दुःखद् घटना हो,’ संग्रौलाले भनिन्, ‘घटनामा संलग्न व्यक्तिहरूको छानबिन गरेर कारबाही हुनुपर्छ।’
उनले तवदारलाई गाडीबाट निकालेरसमेत कुटिएको दाबी गरिन्।
‘चुमनारायण तवदारमाथि पहिला गाडीमै कुटपिट भयो। त्यसपछि गाडीबाट निकालेर भाटाले कुटियो। चेतराज रेग्मी र अरू भाइहरूमाथि पनि आक्रमण भयो,’ उनले भनिन्।
घटनामा करिब पाँच–छ जना घाइते भएको र उनीहरूमध्ये केहीको उपचार भइरहेको संग्रौलाले जानकारी दिइन्।
संग्रौलाले घटनालाई १५औँ महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्तामाथिको नियोजित आक्रमणको संज्ञा दिँदै घटनामा क्षेत्रीय सभापति देवराज तामाङको समेत भूमिका छानबिन गर्नुपर्ने माग गरिन्।
‘पार्टीमा उत्साहसहित १५औँ महाधिवेशनमा भाग लिन आइरहेका साथीहरूमाथि नियोजित रूपमा फलामको रड बोकेर हान्नु गलत हो,’ उनले भनिन्, ‘यो घटनामा संलग्न सबैमाथि छानबिन र कारबाही हुनुपर्छ। घटना घटाउने कार्यमा देवराज तामाङको पनि संलग्नता छ कि छैन भन्ने विषयमा छानबिन हुनुपर्छ।’
क्षेत्रीय सभापति तामाङ डा. शेखर कोइराला निकट हुन्। कोइराला महाधिवेशनमा सहभागी छैनन्।
क्षेत्रीय सभापति देवराज तामाङले भने आफूले कसैमाथि आक्रमण गराउन निर्देशन नदिएको बताएका छन्। उनले आफूले बिहान ९ बजेका लागि कार्यक्रम तय गरेको र सहमहामन्त्री संग्रौला प्रमुख अतिथिका रूपमा आउने कार्यक्रम रहेको बताए।
उनका अनुसार महानगरपालिकाको निर्वाचनमा मतदाता रहेकाले संग्रौला केही ढिला कार्यक्रमस्थल पुगेकी थिइन्। कार्यक्रम सुरु गर्ने तयारी भइरहेका बेला केही कार्यकर्ताले क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको आरोप लगाउँदै प्रश्न उठाएको तामाङले बताए।
‘हामीले नौ बजे कार्यक्रम राखेका थियौँ। प्रमुख अतिथि सहमहामन्त्री डा. डिला संग्रौला हुनुहुन्थ्यो। उहाँ महानगरको मतदाता पनि भएकाले केही ढिला आउनुभयो,’ तामाङले भने, ‘उहाँहरू आएपछि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला केही साथीहरूले क्रियाशील सदस्यताको विषय उठाउनुभयो।’
तामाङले आफ्नो अधिकार खोसेर क्रियाशील सदस्यता बाँडिएको भन्दै आफूलाई प्रश्न गरिएको र त्यसै क्रममा विवाद सुरु भएको बताए।
‘क्रियाशील सदस्यता बाँड्दा क्षेत्रीय सभापतिको अधिकार खोसियो, वडा सभापति र क्षेत्रीय सभापतिको अधिकार मिचेर मनपरी क्रियाशील बाँडियो भनेर साथीहरूले कुरा उठाउनुभयो,’ उनले भने, ‘त्यही विषयमा कुरा भइरहेका बेला कार्यक्रम सुरु हुनुअघि नै टेबल पल्टाउनेलगायतका घटना भए र झगडा भयो।’
सहमहामन्त्री संग्रौलाले आफूलाई नै नियोजित आक्रमण गराएको आरोप लगाएको विषयमा तामाङले आरोप पुष्टि गर्न चुनौती दिए।
‘उहाँले आरोप लगाउनुभएको छ भने पुष्टि गर्नुपर्यो। आरोप त म पनि उहाँमाथि लगाउन सक्छु,’ तामाङले भने, ‘उहाँ बसमा दल–बलसहित अगाडि–पछाडि स्कर्टिङ गरेर आउनुभएको थियो। उहाँ त मेरो कार्यक्रमको प्रमुख अतिथि हो। सभापतिलाई भेटेर कार्यक्रमस्थलमा सँगै जानुपर्ने हो।’
तामाङले आफू कार्यक्रम सञ्चालनको तयारीमै रहेको र झडप कसरी सुरु भयो भन्ने विषय आफूले पनि बुझिरहेको बताए।
‘कार्यक्रम सञ्चालन गर्न सबै साथीहरू भेला भएर बस्नुस् भनेर भनिरहेको थिएँ। त्यति नै बेला झडप भयो,’ उनले भने, ‘झडप कसले र किन गर्यो भन्ने कुरा उहाँलाई थाहा रहेछ भने उहाँले लगाएको आरोप पनि पुष्टि गर्नुपर्छ।’
मोरङ क्षेत्र नम्बर ६ को कांग्रेस अधिवेशन प्रक्रिया यसअघि नै विवादमा परेको थियो। १५औँ महाधिवेशनअन्तर्गत अन्य क्षेत्रमा वडा अधिवेशन सुरु भइसक्दा क्रियाशील सदस्यताको अन्तिम सूची नआएका कारण मोरङ–६ मा वडा अधिवेशनसमेत ढिला भएको थियो।
क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी चुमनारायण तवदारलाई दिइएको र क्षेत्रीय सभापति देवराज तामाङ तथा तवदारबीच संगठन सञ्चालन र अधिवेशन प्रक्रियालाई लिएर मतभेद रहँदै आएको थियो।
यसपटक क्षेत्रीय सभापतिमा तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर प्रमुख दाबेदारका रूपमा देखिएका छन्। मोरङ कांग्रेसको पछिल्लो अधिवेशन तालिकाअनुसार क्षेत्र नम्बर ६ को प्रक्रिया अन्य क्षेत्रभन्दा ढिला अघि बढेको थियो।
तवदारले केही दिनअघि क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।