राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा (मसाल) केन्द्रीय सल्लाहकार मधु कुमार क्षेत्री (का. राहुल) को निधन भएको छ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी क्षेत्रीको आज असोज १४ गते उपचारका क्रममा निधन भएको हो।
विगत केही वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित थिए।
वि.सं. २०३८ साल (४५ वर्षअघि) देखि पार्टी सदस्यका रूपमा निरन्तर क्रियाशील क्षेत्रीले सांस्कृतिक एवम् प्रगतिशील साहित्यिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनले रक्तिम सांस्कृतिक अभियान र प्रगतिशील लेखक संघमा केन्द्रीय भूमिका निर्वाह गरेका थिए भने प्रवास तथा स्वदेशका विभिन्न राजनीतिक जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए।
यसैबीच नेकपा (मसाल)द्वारा जारी वक्तव्यमा भनिएको छ, 'उहाँले इमानदार, कर्मनिष्ठ, प्रतिबद्ध, जुझारू र अनुशासित रूपमा पार्टीको जिम्मेवारी निर्वाह गर्दै अन्तिम क्षणसम्म पनि आफ्नो सक्रियता कायम राख्नुभएको थियो।'
पार्टीले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजन एवम् पार्टी सदस्यहरूप्रति समवेदना प्रकट गरेको छ।