सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले केही दिनयता संसद ‘अटोमेटेड’ भर्सनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएकी हुन्।
सांसद विश्वकर्माले एकै दिनमा तीनदेखि चार वटा विधेयक पेस गर्ने, छलफल गर्ने र ७२ घण्टाभित्र संशोधन हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कानून निर्माणको गुणस्तर खस्किएको जिकिर गरिन्।
उनले विशेष गरी मातृत्व, गर्भपतन र प्रजनन स्वास्थ्य जस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विधेयकहरूलाई एउटै ‘बास्केट’ मा राखेर हतारमा पारित गरिएको भन्दै चिन्ता प्रकट गरिन्।
उनले भनिन्, ‘हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरको सुनिश्चितता गराउने?’
कानून बनाउँदा त्यसको दूरगामी प्रभाव र जगको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै उनले संसदलाई ‘विधेयक म्याराथन’ को थलो नबनाउन आग्रह गरिन्।
सभामुखमार्फत सरकार र सदनको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले हतारको कानून निर्माणले गलत नजिर बसाल्ने र जनताप्रति जबाफदेही हुन नसकिने चेतावनी दिइन्।
संसदमा विधेयकहरूमाथि पर्याप्त छलफल नहुँदा त्यसले समाज र राष्ट्रमा पार्ने असरबारे व्यापक बहस हुन आवश्यक रहेको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल