नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले शेरबहादुर देउवा संस्थापन पक्षले आयोजना गर्ने १५ औँ महाधिवेशनको उद्घाटनमा सहभागी नहुने बताएका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछन्।
उक्त महाधिवेशनमा देउवालाई प्रमुख अतिथिका रूपमा स्वागत गर्न आफूहरू तयार रहेको संस्थापन पक्षले बताउँदै आएको छ।
तर आज कास्कीस्थित १५औँ महाधिवेशन तयारी समितिको कार्यालयमा बोल्दै महतले देउवा उक्त महाधिवेशनमा नजाने बताए।
‘विशेष अधिवेशनबाट आएका पदाधिकारीहरूले देउवा उद्घाटनमा आउनुहुन्छ भनेर बोलिरहेका छन्, १४ औं महाधिवेशनबाट आएको सभापति भएकोले १५ औं महाधिवेशन आफ्नो नेतृत्वमा गरेर उहाँले नेतृत्व हस्तान्तरण गर्छु भनिरहनुभएको छ त, कुनै द्विविधा छ?,’ उनले भने।
महतले कांग्रेसका धेरै नेता–कार्यकर्ता सामाजिक सञ्जालमा सक्रिय नभएकाले पार्टीभित्रका विषयमा अन्योल सिर्जना भएको बताए। ‘देशभरबाट साथीहरूले सोध्नुहुन्छ, हैन शेरबहादुरजी अधिवेशनमा जान लाग्नुभएको हो र हामी के गरौँ भनेर सोध्नुहुन्छ,’ उनले भने।
शशांक कोइरालाले कुनै व्यक्तिलाई नेता भनेको विषयलाई पनि सन्दर्भभन्दा बाहिर लगेर प्रचार गरिएको महतको भनाइ छ। ‘कहिले शशांक कोइरालाले फलानोलाई नेता भन्यो भन्ने। आउट अफ कन्टेक्स्ट हो,’ उनले भने।
भोलिदेखि वडा अधिवेशन सुरू हुने उल्लेख गर्दै महतले आफूहरू सत्यका पक्षमा उभिने बताए। उनले विशेष महाधिवेशनबारेको मुद्दा अदालतमा रहेको भन्दै न्याय पाउनेमा विश्वास रहेको पनि उनले बताए।