प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूलाई बोलाएर सल्लाह मागेका छन्।
उनले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा डाकेर इन्जिनियर सांसदहरूसँग छलफल गरेका हुन्।
रास्वपा सांसद तथा पूर्वाधार समितिका सभापति आशिष गजुरेलका अनुसार प्रधानमन्त्री शाहले सांसदहरूलाई प्रतिनिधिसभा बैठकमा धारणा राख्दा प्राविधिक रूपमा सम्भव उपायहरू सुझाउन आग्रह गरेका थिए।
'संसदमा प्राविधिक कुरा गर्नुस्। आज मानिसहरूले नबुझे पनि पछि बुझ्छन्। सरकारलाई पनि सहयोग हुन्छ,' गजुरेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने, 'पहिला पहिला हामीलाई देश-विदेशका सल्लाहकार चाहिन्थ्यो, अब त इन्जिनियरहरू नै सांसद हुनुहुन्छ। तपाईंहरूले नै सल्लाह दिनुहोस्।'
प्रधानमन्त्री शाहले सल्लाह मागेपछि सांसदहरूले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित सुझाव दिएका थिए।
'मैले पनि सार्वजनिक यातायात प्राधिकरण बनाउन सुझाव दिएँ,' सांसद गजुरेलले भने, 'टिकेटिङ र फेयर कलेक्सन एकै ठाउँमा हुने गरी काम गरौं भनेँ।'
सांसद गजुरेल यातायात सम्बन्धी विज्ञ हुन्।
छलफलमा धेरैजसो सांसदले जलवायु परिवर्तनका कारण आकस्मिक रूपमा बाढीपहिरो बढेकाले अब संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने बताएका थिए।
रसुवाका सांसद मोहन आचार्यले नेपाल र चीनतर्फको नाका नै भोटेकोशी बाढीले बगाएकाले अबको संरचना निर्माण गर्दा बाढी आएको ठाउँभन्दा माथि बनाउनुपर्ने बताएका थिए।
'चीनले पनि नाकातर्फ संरचना बनाउला, त्यसै अनुसार हामीले पनि बनाउनुपर्छ,' आचार्यले भने, 'विपदको नियति बढेकाले जलवायुमैत्री पूर्वाधार बनाउने कुरा भयो।'
उनले प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न इन्जिनियरिङ उपायबारे कुराकानी भएको बताए। कतिपय सांसदले भने डेटा सुरक्षाको विषय उठाएका थिए।
सांसद उज्ज्वलकुमार झाले मुलुकमा राम्रा संस्थाहरू आवश्यक रहेको बताएका थिए।
'प्रभावकारी काम कसरी गर्ने भन्नेबारे छलफल भयो,' झाले भने, 'मैले संस्थागत डेटा रेकर्डिङ सिस्टम भएन, बनाउनुपर्यो भनेँ।'
नेपालमा अहिलेसम्म डेटासम्बन्धी स्वायत्त संस्था नभएकाले कतिपय अवस्थामा व्यक्ति खोज्नुपर्ने अवस्था रहेको र त्यसले पूर्वाग्रह भित्र्याउने गरेको झाले बताएका थिए।
'संस्थालाई अभिभारा दिँदा राम्रो हुन्छ। संस्थाहरूमा पनि तथ्यांक राख्ने व्यवस्था गरौं भनेर सुझाव दिएँ,' उनले भने, 'विभिन्न सेक्टरमा इन्स्टिच्युट र विश्वविद्यालयमा विभिन्न विभागहरू बनाइयो भने आवश्यक परेका बेला डेटा लिन सकिन्छ भनेँ।'
उनले प्रधानमन्त्री शाह सांसदहरूको कुरा सुनेर खुसी भएको उल्लेख गरे।
'तपाईंहरूको सल्लाहले सरकार चलाउन सहयोग गर्छ भन्नुभयो,' झाले भने, 'तपाईंहरूले थाहा पाउनुभएको र बुझेको कुरा भए भेट्न आउनू भन्नुभयो।'
छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशिष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो।