नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
झन्डै तीन दशक लामो पत्रकारिता जीवन त्यागेर अब पोखरेल औपचारिक रूपमा राजनीतिक यात्रामा लागेका छन्।
पोखरेलको पारिवारिक पृष्ठभूमि राजनीतिक हो। उनका बुवा विनोद पोखरेल पनि बीपी चिन्तन दाङका पूर्वअध्यक्ष थिए। बिपुल नेपाल प्रेस युनियन दाङका संस्थागत सचिव पनि हुन्।
कांग्रेस दाङ–२ मा मंगलबार भएको मतदानको नतिजा बुधबार राति सार्वजनिक भएको थियो। लोकप्रिय मत किरणकिशोर घिमिरेले प्राप्त गरे। घिमिरे गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थिए। उनले ७०२ मत पाएका छन्। त्यसपछि गत स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको उपमेयरमा पराजय बेहोरेका नेता भूपबहादुर डाँगीले ६४५ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे।
त्यसपछि क्रमशः लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रचण्डविक्रम न्यौपानेले ६१६, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजु खनालले ६०६, दाङ–२ का पूर्वक्षेत्रीय सभापति भीमप्रकाश खड्काले ५०९, घोराही–१० का वडाध्यक्ष दीपक पाण्डेयले ४२५, घोराही–१० का पूर्वअध्यक्ष चित्रबहादुर डाँगी ‘निर्मल’ले ३९३, बिपुल पोखरेलले ३६५, महेशराज श्रेष्ठले ३५८ र मेडिकल व्यवसायी पवन आचार्यले ३३८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
खुला महाधिवेशन प्रतिनिधिमा चार मतान्तरले घोराही–१५ का वडाध्यक्ष रमेश पाण्डे पराजित भए। पाण्डेले ३३४ मत प्राप्त गरेका थिए।
खुला महाधिवेशन प्रतिनिधिमा पराजित हुने अन्य उम्मेदवारहरूमा पदमराज शर्माले ३०५, गिरिराज सुवेदीले २७०, दुर्लभ केसीले २६५, हरिशचन्द्र भण्डारीले २६१, प्रवीनकुमार भण्डारीले २३७, रेखबहादुर वली ‘देउता’ले २३५, पुरुषोत्तम शर्माले २२६, श्रीधर घिमिरेले २२२, नारायणप्रसाद भण्डारीले २०४, लिलाधर वलीले १९३, प्रेमबहादुर डाँगीले १३६, यज्ञबहादुर बस्नेतले १३०, कृष्णबहादुर डाँगीले ११४, सुनिलकुमार देवकोटाले १०४, प्रकाश रजौरेले १०३ र विष्णुप्रसाद शर्माले ८४ मत प्राप्त गरेका थिए।
त्यस्तै, महिला महाधिवेशन प्रतिनिधि खुलातर्फ बिमला योगी सर्वाधिक लोकप्रिय मत प्राप्त गरी निर्वाचित भइन्। उनले ६३३ मत प्राप्त गरिन्। बिमला नेपाल महिला संघ दाङकी संस्थापक अध्यक्ष हुन्। उनी महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता हुन्।
नेपाल महिला सामुदायिक संस्थाकी संस्थापक अध्यक्ष बिमलाको समूहले दाङसहित रोल्पा, रुकुम, जाजरकोट लगायतका विभिन्न जिल्लामा महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ। साथै महिलालाई उद्यमी बनाउँदै आएको छ। द्वन्द्वपीडित महिलाको क्षेत्रमा समेत काम गर्दै आएको छ। दुर्गम क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा लगानी गर्दै आएको छ। बिमला पत्रकार भागीरथ योगीकी बहिनी हुन्।
त्यसपछि क्रमशः लुम्बिनी प्रदेश सदस्य जानका केसीले ५०४, कांग्रेस दाङकी सचिव बालिका लम्सालले ४९३ र पूर्वराष्ट्रियसभा सदस्य अनिता देवकोटाले ४८७ मत प्राप्त गरी निर्वाचित भए। यहाँ नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा रावतले ४३७ र नेतृ मञ्जु बज्राचार्यले २६१ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।
विभिन्न क्लस्टरबाट गरी ३३ जना महाधिवेशन प्रतिनिधि यो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन्। दाङ–२ को सभापतिमा भने प्राध्यापक प्रकाश श्रेष्ठ निर्वाचित भएका थिए।