विपक्षी दल नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारले अघि सारेको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको बताएकी छन्।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा भइरहेका विवादास्पद नियुक्ति र निमित्त प्रमुखको लामो समयसम्मको निरन्तरताले सरकारको सुशासनको दाबीलाई नै गिज्याइरहेको आरोप लगाएकी हुन्।
सांसद खातुनले मुख्य गरी सरकारी निकायमा भइरहेका नियुक्तिको प्रक्रिया र त्यसमा हुने ढिलासुस्ती तथा चलखेलप्रति असन्तुष्टि व्यक्त गरिन्।
नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियालाई उहाँले उदाहरणका रूपमा प्रस्तुत गरिन्।
'परिषदका नियुक्तिका लागि सूचना प्रकाशित गरी तोकिएको समयभित्र अन्तर्वार्ताको प्रक्रियासमेत सम्पन्न भइसकेको थियो। तर २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक गर्नुको साटो पुनः नयाँ प्रक्रिया शुरु गरी आफ्ना निकट व्यक्तिहरूलाई समेट्न खोजियो,' उनले भनिन्।
'सुशासनको नारा सरकारकै हो तर कस्तो सुशासन हो यो? आफ्ना प्रिय पात्रहरूलाई नियुक्त गराउनकै लागि प्रक्रियालाई लम्ब्याउने र जनतालाई झुक्याउने काम भइरहेको छ,’ उनले अगाडि भनिन्।
उनले सरकारको कार्यशैलीलाई दिउँसै रात पार्ने प्रवृत्तिको संज्ञा दिँदै प्रक्रिया मिचेर हुने नियुक्तिले कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पुर्याएको बताए।
उनले कतिपय सरकारी विभागमा निमित्त प्रमुखको भरमा काम चलाइरहेको विषय पनि उठान गरे।
एउटा निमित्त हुँदाहुँदै अर्को निमित्त ल्याउने वा लामो समयसम्म निमित्तकै भरमा विभाग चलाउने सरकारको शैलीले सुशासनको दाबीलाई असान्दर्भिक बनाएको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल