न्युयोर्कका मेयर जोहरन मम्दानीले अन्ततः अमेरिकी सरकारबाट संघीय सुरक्षा क्लियरेन्स पाएका छन्।
महिनौं लामो प्रतीक्षापछि क्लियरेन्स पाएसँगै अब उनले न्युयोर्क सहरको सुरक्षासँग सम्बन्धित गोप्य सूचना र सम्भावित आपतकालबारे संघीय निकायले गर्ने गोप्य ब्रिफिङमा सहभागी हुन पाउने भएका छन्।
बुधबार ब्रुकलिनमा आयोजित एक छुट्टै पत्रकार सम्मेलनका क्रममा मम्दानीले आफूले सुरक्षा क्लियरेन्स पाएको पुष्टि गरेका हुन्।
‘अब मसँग सुरक्षा क्लियरेन्स छ,’ उनले पत्रकारहरूसँग भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठ्याक्कै कहिले क्लियरेन्स दिएको हो भन्ने चाहिं अझै नखुलेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। मम्दानीका प्रवक्ता साम रास्किनले यो साता कुनै समयमा क्लियरेन्स स्वीकृत भएको मात्र बताए।
मम्दानीले क्लियरेन्स पाउनु भन्दा केही दिनअघि मात्रै ट्रम्पसँग भेट गरेका थिए। ट्रम्पसँगको उक्त भेटलाई दुवै नेताबीचको सम्बन्धमा आएको सकारात्मक परिवर्तनका रूपमा हेरिएको थियो।
तर मम्दानीलाई क्लियरेन्स दिने निर्णयमा ट्रम्पसँगको उक्त भेटको कुनै भूमिका रहेको प्रमाण भने सार्वजनिक भएको छैन।
मम्दानीको सुरक्षा क्लियरेन्स सम्बन्धी प्रक्रिया होमल्यान्ड सेक्युरिटी विभागले अघि बढाएको थियो। क्लियरेन्सका लागि आवश्यक पृष्ठभूमि जाँच भने एफबीआईले गर्ने गर्छ।
होमल्यान्ड सेक्युरिटी विभागले मम्दानीले क्लियरेन्स पाउन किन यति लामो समय लाग्यो भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। विभागले यसबारे प्रश्न एफबीआईतर्फ पठाएको थियो। एफबीआईले तत्काल प्रतिक्रिया दिएको छैन।
स्थानीय संचारमाध्यमले यसै महिनाको सुरुमा मम्दानीको सुरक्षा क्लियरेन्सका लागि भएको ढिलाइ असामान्य रूपमा लामो भएको रिपोर्ट गरेको थियो।
मम्दानीले जनवरीमा पद सम्हालेपछि नै क्लियरेन्सका लागि आवेदन दिएका थिए। त्यसपछि करिब नौ महिनापछि मात्रै उनले स्वीकृति पाएका हुन्।
क्लियरेन्स पाएपछि मम्दानी अब एफबीआई लगायत संघीय निकायले आयोजना गर्ने गोप्य सुरक्षा ब्रिफिङमा सहभागी हुन सक्नेछन्।
यसअघि उनले यस्ता बैठकमा सहभागी हुन पाउँदैनथे। तर मम्दानी प्रशासनका केही वरिष्ठ अधिकारीसँग भने पहिल्यै सुरक्षा क्लियरेन्स भएकाले उनीहरू यस्ता बैठकमा सहभागी हुँदै आएका थिए। तीमध्ये मम्दानीका प्रमुख कानुनी सल्लाहकार राम्जी कासेम पनि छन्।
मम्दानीले सुरक्षा क्लियरेन्सका लागि प्रतीक्षा गरिरहेको समय अमेरिकी राजनीतिमा यो प्रक्रिया आफैं विवादमा पनि परेको थियो।
गत वर्ष ट्रम्पले ‘विच हन्ट’ भन्दै आलोचना गरेका विभिन्न अनुसन्धानमा संलग्न वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूको सुरक्षा क्लियरेन्स सरकारले खारेज गरेको थियो। तीमध्ये सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्बन्धबारे एफबीआईले गरेको अनुसन्धान पनि थियो।
मम्दानी र ट्रम्पबीच पनि गत वर्षसम्म सम्बन्ध निकै तनावपूर्ण थियो। मम्दानीले त्यसबेला ट्रम्पलाई तानाशाह र फासिवादी जस्ता शब्द प्रयोग गरेर आलोचना गरेका थिए।
तर पछिल्लो समय दुवैबीचको सम्बन्धमा उल्लेखनीय परिवर्तन देखिएको छ। हालै भएको भेटमा उनीहरूबीच मैत्रीपूर्ण वातावरण देखिएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)