नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमिति सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन्।
बिहीबार अपराह्न सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले ६४७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी केशव गिरीले १२६ मत प्राप्त गरे।
कुल ७९६ मत खसेको निर्वाचनमा कार्कीले गिरीलाई ५२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत विकास थापाका अनुसार सभापति पदका लागि कार्की र गिरीको मात्रै उम्मेदवारी परेको थियो।
विद्यार्थी राजनीतिबाट सक्रिय भएका कार्की यसअघि पनि विराटनगर महानगर सभापति पदका प्रत्यासी थिए। कुनै समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका कार्की पछिल्लो समय गगन थापा नेतृत्वको धारमा खुलेका छन्।
महानगरको महिला उपसभापतिमा श्रुति शर्मा निर्वाचित भएकी छन्। उनले ४९५ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२६ मत प्राप्त गरिन्।
खुला उपसभापति पदमा शुभासिस कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।
त्यस्तै, सचिवमा वीरेन्द्रप्रसाद यादव र सह–सचिवमा टीकाराम सापकोटा पनि निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन समितिका अनुसार महानगर समितिका सदस्य पदका विभिन्न क्लस्टरमा पनि सर्वसम्मतबाटै चयन भइसकेका छन्।