सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् प्रभावित नागरिकको उद्धार र राहतसँगै सुरक्षित पुनर्स्थापना तथा पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, प्रभावित परिवारसम्म समयमै सहायता पुर्याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउन सरकारको प्राथमिकता स्पष्ट हुनुपर्ने बताए।
उनले राहत वितरण पहुँच वा प्रभावका आधारमा नभई आवश्यकता र जोखिमका आधारमा हुनुपर्ने बताए। विपद्को समयमा सरकार र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम आवश्यक रहेको उनको भनाइ थियो।
पराजुलीले सडक, पुल, सञ्चार, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवा पुनःस्थापनालाई उच्च प्राथमिकता दिनुपर्ने पनि बताए।
प्रभावित बस्तीलाई सेवा, बजार र अवसरसँग पुनः जोड्न सुरक्षित वैकल्पिक मार्ग, अस्थायी पुल र नियमित आपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए।
विपद्लाई छुट्टाछुट्टै मौसमी घटनाका रूपमा मात्र हेर्न नहुने भन्दै उनले जलवायु परिवर्तन, असामान्य वर्षा, पहिरो र नदी प्रणालीमा बढ्दो जोखिमबारे वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए।
साथै, जोखिमयुक्त भूउपयोग, कमजोर निर्माण, अव्यवस्थित बसोबास र नदी क्षेत्रको अतिक्रमणजस्ता समस्या सुधार्नुपर्नेमा उनले जोड दिए।
'विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन; यसले हामी सबैको मानवीय चरित्र र राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोपको होइन—तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी कामको हो,' उनले भने।