दसैं नजिकिँदै गर्दा चीनसँगका उत्तरी नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको र व्यापारीका सामान सीमापारि अड्किएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दुलालले रसुवागढी र केरूङ नाका बन्द हुँदा दसैंका लागि सामान आयात गर्न समस्या भएको र त्यसको असर बजारमा देखिन थालेको बताए।
चाडपर्वको मुखमा सामान महँगिएको उल्लेख गर्दै उनले चीनका विभिन्न क्षेत्रमा करोडौं लगानी गरेर सामान ल्याउन तयारी गरेका नेपाली व्यापारीका सामान सीमापारि अड्किएको बताए। नाका बन्द हुँदा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको र ढुवानी लागतसमेत बढेको उनको भनाइ थियो।
'रसुवा भन्सार नाका बन्द छ, केरूङ भन्सार नाका बन्द छ। तत्काल खुल्ने सम्भावना न्यून छ,' उनले भने, 'केरूङ नाका खुले पनि ४ हजार ६ सय मिटर उचाइमा अत्यधिक चिसोका कारण गाडी दुई–तीन दिनसम्म इन्जिन स्टार्टमै राख्नुपर्ने अवस्था छ। त्यसले गाडी बिग्रिने र भाडा पनि अरू भन्सार नाकाको तुलनामा महँगो पर्ने अवस्था छ।'
दुलालले दसैंको मुखमा बजारमा सामान महँगिएको र व्यापारीले करोडौं लगानी गरेर ल्याउन तयारी गरेका सामान चीनका विभिन्न क्षेत्रमा अड्किएको बताए।
नेपाल र चीनको संयुक्त टोलीले स्थलगत अध्ययन गरे पनि तातोपानी नाका बन्द हुनुको कारण सडकको अवस्था मात्रै नभएको उनले उल्लेख गरे।
नाका बन्द हुँदा व्यापार तथा आपूर्ति व्यवस्थामा परेको असरलाई सम्बोधन गर्न सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। उनले चीनसँग कूटनीतिक संवाद गरी उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे।
दसैंजस्तो ठूलो चाड नजिकिँदै गर्दा बजारमा महँगी बढ्नु र आपूर्ति प्रभावित हुनु उपभोक्ता तथा व्यापारी दुवैका लागि समस्याको विषय भएको भन्दै उनले सरकारले यसतर्फ तत्काल ध्यान दिनुपर्ने बताए।