ट्राफिक प्रहरीको लगातार १५–१६ घन्टाको ड्युटीलाई थकानमुक्त बनाउन ३ देखि ४ चरणको सिफ्ट प्रणाली लागू गर्न संसदीय समितिले सुझाव दिएको छ।
दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने करिब १५ लाख यात्रुको यात्रालाई सुरक्षित, सहज र सुव्यवस्थित बनाउन पूर्वाधार विकास समितिले तयार पारेको विशेष प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो।
समितिका सभापति आशिष गजुरेलले '२०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन' पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई हस्तान्तरण गरेका हुन्।
चाडपर्व बेला सडकमा सवारी र यात्रुको चाप अत्यधिक हुने गर्छ।
यस्तो अवस्थामा सडकमा खटिने ट्राफिक प्रहरीले बिहानैदेखि रातिसम्म बिनाविश्राम १५ देखि १६ घन्टासम्म लगातार ड्युटी गर्नुपर्ने बाध्यात्मक अवस्था रहँदै आएको छ। लामो समयसम्म उभिएर काम गर्दा प्रहरीमा शारीरिक तथा मानसिक थकान पैदा हुने र त्यसले सवारी व्यवस्थापन एवं यात्रु सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले २४ सै घन्टा सडकमा प्रहरीको उपस्थिति रहने गरी ३ देखि ४ वटा सिफ्टमा टोली विभाजन गरेर ड्युटीमा खटाउनुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ।
समितिको अध्ययन विधि र कार्यशैलीपूर्वाधार विकास समितिले यो प्रतिवेदन तयार पार्न उपत्यकाका मुख्य नाका, राजमार्गको पूर्वाधार र यातायात क्षेत्रका प्रमुख सरोकारवालाहरूसँग गहन अध्ययन तथा छलफल गरेको थियो।
समितिका प्रतिनिधिहरूले कलङ्की, नागढुङ्गा, जडीबुटी, नयाँ बसपार्क लगायतका प्रमुख यात्रु प्रस्थान विन्दुहरूको प्रत्यक्ष स्थलगत निरीक्षण गरेका थिए। यसका साथै समितिले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्ता अधिकारकर्मीहरूसँग छुट्टाछुट्टै र संयुक्त बैठक बसेर विगतका दसैंमा भोगिएका व्यावहारिक जटिलताबारे परामर्श लिएको थियो। समितिले केवल सिद्धान्तमा सीमित नरहेर तत्काल कार्यान्वयन गर्न सकिने अल्पकालीन सुधार र दीर्घकालीन नीतिगत व्यवस्थालाई समेटेर एकीकृत प्रतिवेदन तयार पारेको हो।चाडपर्वमा यात्रुले भोग्नुपर्ने सास्ती र मौजुदा चुनौतीदसैंको समयमा काठमाडौँ उपत्यकाबाट १५ लाखभन्दा बढी मानिस एकैपटक गृहजिल्लातर्फ लाग्ने भएकाले मुख्य नाकाहरूमा घन्टौँसम्म सवारी जाम हुने गरेको छ।
विशेषगरी नागढुङ्गा–कलङ्की र कोटेश्वर–जडीबुटी सडक खण्डमा हुने अत्यधिक चाप, निर्माणणाधीन सडक संरचना र बिग्रेका सवारी साधनका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
यसैगरी बस काउन्टरहरूमा हुने कालाबजारी, बिचौलियाको प्रभाव, तोकिएभन्दा बढी भाडा असुली र नक्कली टिकटको समस्याले सर्वसाधारण यात्रुलाई सधैँ प्रताडित बनाउँदै आएको छ।
मनसुन लगत्तै आउने दसैंका बेला मुख्य राजमार्गहरूमा पहिरोको जोखिम उच्च रहने र दुर्घटना भइहालेमा वा बाटो अवरुद्ध भएमा तत्काल उद्धार गर्न आवश्यक पर्ने क्रेन तथा हेभी इक्विपमेन्टको अभाव रहनु अर्को ठूलो चुनौतीका रूपमा रहेको छ।
सुधारका प्रमुख सिफारिस र एकीकृत व्यवस्थापनयी समस्या अन्त्यका लागि समितिले छुट्टाछुट्टै चोकको साटो बसपार्कदेखि नागढुङ्गासम्मको पूरै बाटोलाई एउटै करिडोरका रूपमा मानेर एकीकृत संयोजक तोक्न प्रस्ताव गरेको छ।
टिकट प्रणालीलाई पारदर्शी बनाउन शतप्रतिशत डिजिटल टिकट (इ-टिकटिङ) लागू गर्ने, मुख्य नाकाहरूमा स्वचालित नम्बर प्लेट पहिचान गर्ने क्यामेरा जोड्ने र सवारी साधनमा जिपिएस ट्र्याकिङ अनिवार्य गर्ने सिफारिस गरिएको छ।
यात्रुको उच्च चाप हुने फूलपातीदेखि अष्टमीसम्मका दिनहरूमा सवारी साधनको अभाव हुन नदिन उपत्यकाका कलेज, विद्यालय र विभिन्न संस्थासँग रहेका बसहरूलाई जगेडा सवारीका रूपमा प्रयोग गर्ने नीति लिन भनिएको छ।
उपत्यकाका १० प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने र राजमार्गमा हुनसक्ने पहिरो पन्छाउन ५३ वटा ठूला हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन बुझ्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समितिले दिएका व्यावहारिक सुझावहरूलाई तत्काल मन्त्रालयगत समन्वयमार्फत कार्यान्वयनमा ल्याएर यसपटकको दसैं यात्रालाई विगतभन्दा सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।