नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा सहमहामन्त्रीका लागि अहिलेसम्म ५ जना नेताले दाबी प्रस्तुत गरेका छन्।
अहिलेसम्म पदाधिकारी नभएकामध्ये सहमहामन्त्रीमा दाबी गर्ने नेताहरूमा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेता मनोजमणि आचार्य, केन्द्रीय सदस्य प्रतिमा गौतम र बाजुरा–१ का सांसद जनकराज गिरी छन्।
उनीहरूले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारसमेत सुरू गरिसकेका छन्।
विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका कतिपय सोही पदमा निरन्तर काम गर्न चाहन्छन्। सहमहामन्त्री उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र डिला संग्रौला पन्त भने महामन्त्रीका आकांक्षी छन्।
कांग्रेसमा निर्वाचनबाट ८ जना सहमहामन्त्री चुनिनेछन्। विभिन्न समावेशी समूह तथा क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुनेछन्।
त्यस्तै, कांग्रेस विधानले केन्द्रीय सदस्यमध्येबाट सभापतिले तीन जना सहमहामन्त्री मनोनीत गर्न सक्ने व्यवस्था गरेको छ।