नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।
पार्टीको इतिहास, जारी महाधिवेशन र समसामयिक राजनीतिक विषयवस्तुलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जना स्रष्टालाई कुल २ लाख २० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिने भएको नेविसंघले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक जो-कोहीले कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडिओ निर्माण गरी फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्नेछ।
नेविसंघका अनुसार प्रतिस्पर्धाबाट १५ जना विजेता छनोट गरिनेछ।
जसमा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३० हजार रुपैयाँ र तेस्रो पुरस्कार २० हजार रुपैयाँ रहेको छ। त्यस्तै, उत्कृष्ट १२ जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
सहभागीहरूले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, लिप्सिङ, अभिनय, कथावाचन वा अन्य कुनै पनि रचनात्मक शैलीमा भिडिओ बनाउन सक्नेछन्।
विजेताको मूल्यांकन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरका आधारमा गरिने नेविसंघले जनाएको छ। कृत्रिम रूपमा ‘बुस्ट’ गरिएका भिडिओहरूलाई भने प्रतिस्पर्धामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले बताइन्।
प्रतियोगितामा भाग लिन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्समा भिडिओ पोस्ट गर्दा नेपाली कांग्रेसको आधिकारिक सामाजिक सञ्जाल खातालाई अनिवार्य रूपमा ‘फलो’ र ‘मेन्सन’ गरी तोकिएका ह्यासट्याग प्रयोग गर्नुपर्ने सर्त राखिएको छ।
महाधिवेशनलाई डिजिटल पुस्ता र युवासँग जोड्दै उत्साहजनक बनाउन यो रचनात्मक प्रतियोगिता उपयोगी हुने विश्वास अध्यक्ष कटुवालले व्यक्त गरेकी छन्।
कांग्रेस १५ औं महाधिवेशन असोज १८ गतेदेखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ।