नेपाली कांग्रेसका नेता दीपक गिरी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
उनी दाङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्। पूर्वमन्त्री गिरी ९०७ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि विजयी भएका हुन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरेश हमालले सर्वाधिक मत प्राप्त गरेका छन्। खुलातर्फ १० जनाका लागि ३७ जना प्रतिस्पर्धी मैदानमा थिए। तीमध्ये हमालले सर्वाधिक लोकप्रिय मत ९१६ प्राप्त गरे। बुधबार भएको निर्वाचनमा कुल १,२२४ मत खसेको थियो।
हमाल यसअघि तुलसीपुर उपमहानगरपालिकाको सभापति थिए। गत पुसमा भएको विशेष महाधिवेशनका क्रममा दाङमा सबैभन्दा पहिला उनी विशेष महाधिवेशनका पक्षमा खुलेका थिए।
हमाल यातायात क्षेत्रबाट उदाएका युवा नेता हुन्। त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा लगातार तेस्रो कार्यकालसम्म नेतृत्वमा रहेका हमाल सार्वजनिक यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हुन्।
यो अधिवेशनमा पूर्वकेन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्वजिल्ला सभापति कीर्तिबहादुर खड्का लगायतका नेताहरू उम्मेदवार थिएनन्। उनीहरू निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा छन्।
यही क्षेत्रबाट खुला महाधिवेशन प्रतिनिधिमा दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगी ७३५ मतसहित महाधिवेशन प्रतिनिधि भए।
क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का–४९७ मत, तेक्वान्दोका पूर्वखेलाडी जितबहादुर केसी–४२७, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत–३९२, व्यवसायी जनकप्रसाद खराल–३८०, व्यवसायी टेकप्रसाद बस्नेत ‘हिमाल’–३७४, गोविन्दबहादुर शाह (शम्भु) ३५३, राप्ती बबई क्याम्पसका पूर्वस्ववियु सभापति अनिलकुमार कार्की–३३६ र जिल्ला सहसचिव सुबोधकुमार डाँगी–३३३ मतसहित निर्वाचित भएका छन्।
खुलातर्फ संविधानसभा सदस्य बुद्धिराम भण्डारीले ३१२ तथा क्षेत्र नम्बर ३ (क) का सभापति देवेन्द्रकुमार रिजालले २९१ मत प्राप्त गरे पनि पराजित भएका छन्।
त्यस्तै, केन्द्रीय सदस्य केशवराज आचार्य ७२० र डा. नहकूल केसी ४६६ मत प्राप्त गरी निर्वाचित भए। केसी गरिबी निवारण आयोगका पूर्वअध्यक्ष र डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छँदा लुम्बिनी प्रदेश विकास प्राधिकरणको जिम्मेवारीमा थिए।
खस आर्यमा महादेव शाहले ३०९, युवाहरू शिशिरकुमार लामिछानेले २८८, वसन्त गिरीले २०६ र ध्रुव गौतमले १९६ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।
युवा महिलातर्फ अर्चना रेग्मी ४४६ मत प्राप्त गरी निर्वाचित हुँदा राधिका खड्काले ३३५ र लुमा बुढामगरले २५४ मत प्राप्त गरिन्।
युवा खुलातर्फ राघव देवकोटा ४३८ र प्रमोद भण्डारी ३६० मत प्राप्त गरी विजयी भए।
दलित महिलातर्फ देविका नेपाली घिमिरे ६४१ मत प्राप्त गरी निर्वाचित हुँदा भूमि सुनारले २९० मत प्राप्त गरिन्।
पेसागत विज्ञतर्फ १ जनाको ठाउँमा ४ जना प्रतिस्पर्धीमध्ये मोहन लम्साल ३८७ मत प्राप्त गरी निर्वाचित भएका थिए।
अपाङ्गतातर्फ १ जनाको ठाउँमा तीन जना उम्मेदवार थिए। जसमा गणेशबहादुर खत्री ३८१ मत प्राप्त गरी विजयी भए।
अल्पसंख्यकतर्फ अमान उल्ला अन्सारी (अमन) ५८७ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी ऋषिराज लहरे (अरुण) ले ४७२ मत प्राप्त गरेका थिए।
त्यस्तै, दलिततर्फ मोहन सुनार ५५८ मत प्राप्त गरी विजयी हुँदा खेमराज विक सेन्चुरीले ३१४ र चेतबहादुर सेर्पाइलीले १९१ मत प्राप्त गरे।
शहीद परिवारबाट नवीन योगी ६४६ मत प्राप्त गरी निर्वाचित भए। नवीनका बुवा तारानाथ योगीलाई तत्कालीन माओवादीले बुवाको किरिया बसेकै बेला बन्धक बनाई गोली प्रहार गरी हत्या गरेको थियो।
शहीद परिवारका भेषराज डाँगीले १६८, सुशील आचार्य (द्वन्द्व प्रभावित) ले ११९ र टोपेन्द्रराज रेग्मी (तन्नेरी), प्रजातन्त्र सेनानीले ११८ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि थारू (महिला) मा चेतना चौधरी ५३६ मत प्राप्त गरी विजयी भइन्। उनकी प्रतिस्पर्धी केउलापति चौधरी (कल्पना) ले ४०५ मत प्राप्त गरिन्।
त्यस्तै, प्रत्यक्षतर्फ महिलाका ४ जनाको ठाउँमा १० जनाबीच प्रतिस्पर्धा भएको थियो। तीमध्ये सुष्मा लामिछाने गिरीले सबैभन्दा बढी ६४६ मत प्राप्त गरिन्। विजयी हुनेमध्ये देवा डाँगीले ५७५, सुष्मा चन्दले ५०६ र पार्वती पुनले ४५८ मत प्राप्त गरी विजयी भए। दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्का ७ मतान्तरले पराजित हुन पुगिन्।
समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि दलितमा जोगेन्द्रबहादुर सुनार (विक) ३९८ मत प्राप्त गरी निर्वाचित हुँदा अन्य तीन जना प्रतिस्पर्धी पराजित भए।
समानुपातिकतर्फ आदिवासी जनजातिमा जैबहादुर घर्तीमगर ६०० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी वसन्तकुमार खङ्गीले ३८६ मत प्राप्त गरे।
त्यस्तै, दाङ क्षेत्र नं. ३ को सभापतिमा खिमबहादुर वली निर्वाचित हुँदा (क) को सभापतिमा तेजबहादुर डाँगी र (ख) को सभापतिमा दंगीशरण गाउँपालिका अध्यक्षसमेत रहेका शम्भु गिरी निर्वाचित भएका थिए।