नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन्।
केन्द्रीय निर्वाचन समितिले भोटेकोशी-त्रिशूली विपद्पछिको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै उम्मेदवारका कडा निर्वाचन आचारसंहिता लागू गरेको हो।
समितिका अनुसार महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन तडकभडक तथा भड्किलो प्रचार अभियानमा पूर्ण रोक लगाइएको छ।
महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डप तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्नसमेत निषेध गरिएको छ।
त्यस्तै, महाधिवेशन स्थल बाहिरको परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न नपाइने समितिले जनाएको छ।
आचारसंहिताअनुसार उम्मेदवारहरूले आफ्ना एजेण्डा तथा उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ।
हालै भोटेकोशी लगायत देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन परिस्थितिमा रहेकाले यस्तो अवस्थामा महाधिवेशनलाई सादगीपूर्ण र मर्यादित बनाउन थप व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
समितिले आचारसंहिताको पूर्ण पालना गरी विपद्को घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकहरूलाई अपिल गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन भएमा नियमानुसार कारबाही गरिने समितिले स्पष्ट पारेको छ।
कांग्रेस महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुनेछ।