नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्। अहिलेसम्म ७ हजार २८ जना महाधिवेशन प्रतिनिधि तय भइसकेका छन्।
भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधिको संख्या भने अझै तय हुन बाँकी छ। त्यस्तै, सभापति गगन थापाले ७५ जना महाधिवेशन प्रतिनिधि मनोनीत गर्न बाँकी छ।
सबै प्रक्रिया पूरा भएपछि महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसको अनुमान छ।
कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए।
त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो। यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।
यसैबीच उपसभापति विश्वप्रकाश शर्मा लगायतले महाधिवेशनस्थल खुलामञ्चको आज निरीक्षण गरेका छन्। यहाँ मञ्चलगायत व्यवस्थापन कार्य धमाधम अघि बढाइएको छ।