नेपाली कांग्रेसको सप्तरी क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।
अधिवेशनबाट शम्भुलाल देव क्षेत्रीय सभापति सर्वसम्मत चयन भएका छन्।
कांग्रेसभित्रको आन्तरिक मतभेद र मनमुटाव कम गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न राष्ट्रिय सभा सांसद रञ्जित कर्णले पहल गरेका थिए।
यहाँ पार्टीभित्रको आन्तरिक द्वन्द्वको प्रभाव वडादेखि स्थानीय तह हुँदै प्रदेशसभा निर्वाचनसम्म परेको र त्यसका कारण कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्थानीय नेताहरूको बुझाइ छ।
यसपटक भने कर्णको पहलमा कांग्रेसका विभिन्न पक्षबीच संवाद र सहमतिको वातावरण निर्माण गरिएको बताइएको छ।
लामो समयदेखिको आन्तरिक असमझदारीलाई कम गर्दै सबै कांग्रेसजनलाई समेटेर शम्भुलाल देवको नेतृत्वमा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न भएपछि क्षेत्र नं. २ का स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको कर्णले जानकारी दिए।
नवनिर्वाचित सभापति शम्भुलाल देवले सबै पक्षलाई समेटेर संगठनलाई थप सक्रिय र बलियो बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।