नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री तरिकाले सम्पन्न गर्ने तयारी गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका छन्।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले महाधिवेशनस्थल प्रवेश गर्ने ठाउँहरूमा एसएमएस तथा प्रविधिको माध्यमबाट आवतजावतसम्बन्धी सूचना प्राप्त गर्ने व्यवस्था मिलाइएको बताए।
‘काठमाडौं उपत्यकाका महाधिवेशनस्थल प्रवेश गर्ने ठाउँहरूमा हामीले एसएमएस तथा प्रविधिबाट आवतजावतको सूचना प्राप्त गर्ने व्यवस्था गरेका छौँ। पार्टीको यो अधिवेशनलाई प्रविधिमैत्री बनाइएको छ,’ उनले भने।
चालिसेका अनुसार कांग्रेसले यसपटक महाधिवेशनमा धेरै तामझाम नगर्ने निर्णय गरेको छ। महाधिवेशन प्रवेशद्वारको मूल गेटबाहेक अन्य स्थानमा प्रचार सामग्री नराखिने उनले बताए।
‘हामीले महाधिवेशनमा धेरै तामझाम नगर्ने निर्णय गरिसकेका छौँ। त्यसको कारण महाधिवेशन प्रवेशद्वारको मूल गेटबाहेक अरू कुनै प्रचार सामग्री बजारमा टाँस्ने छैनौँ,’ उनले भने।
उनका अनुसार काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शहरमा एक सय वटा डिजिटल बोर्डमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरू डिजिटल माध्यमबाट प्रसारण भइरहेका छन्।
त्यसैगरी महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई समेत डिजिटल माध्यमको अधिकतम प्रयोग गर्न आग्रह गरिएको उनले बताए।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुनेछ।