नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि खाना र खाजाको व्यवस्थापन गर्ने बताएको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन अवधिभर बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था पार्टीले मिलाएको छ। तर आवास र कार्यक्रम स्थलसम्मको आवतजावत खर्च भने प्रतिनिधि आफैले बेहोर्नुपर्ने भएको उनले बताए।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको उद्घाटनदेखि बन्दसत्रसम्मका कार्यक्रम खुलामञ्चमा हुने प्रवक्ता चालिसेले जानकारी दिए।
आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकिएको कांग्रेसले जनाएको छ। उनीहरूले आफ्नो भूगोलका महाधिवेशन प्रतिनिधिको बसोवास व्यवस्थापनमा समन्वय गर्नेछन्।
प्रतिनिधिका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा आवासको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। आवासको सम्पूर्ण खर्च तथा कार्यक्रमस्थलसम्म आउजाउको खर्च भने सहभागी आफैले व्यहोर्नुपर्नेछ।
कांग्रेसमा ७५ सय हाराहारी महाधिवेशन प्रतिनिधि हुनेछन्।
आवाससम्बन्धी जानकारी प्रतिनिधिले ह्वाट्सएप र एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताए।
महाधिवेशनका क्रममा प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको खाना तथा खाजाको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ।