काठमाडौं–१ को नेपाली कांग्रेस क्षेत्रीय अधिवेशनबाट प्रबल थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ उनले १७१ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत पाए।
काठमाडौं–१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले विगतमा प्रतिनिधिसभा निर्वाचन जित्दै आएका छन्।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले यही क्षेत्रबाट थापालाई उम्मेदवार बनाएको थियो।
नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा जोडिएका थापा नेपाल तरूण दल हुँदै पार्टीका जिल्ला तथा केन्द्रीय तहका विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्।
उनी यसअघि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसमेत भइसकेका छन्।
काठमाडौंमा जन्मेका थापाले नेपालमा स्नातक तहको अध्ययन पूरा गरेपछि अस्ट्रेलियाबाट एमबिए गरेका छन्। अध्ययनपछि नेपाल फर्किएर उनी कांग्रेस राजनीतिमा सक्रिय छन्।
अधिवेशनबाट काठमाडौं–१ को क्षेत्रीय सभापतिमा रामकुमार केसी निर्वाचित भएका छन्।
क्षेत्रीय समिति तथा विभिन्न समावेशी समूहबाट महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन्।