नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउनेबारे छलफल भइरहेको छ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार अहिले पदाधिकारी संख्या १७ छ। यसमा केही बढाउने गरी आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन्।
पदाधिकारीमा आकांक्षीहरूको संख्या बढ्दै गएको अवस्था छ र केही पदाधिकारी थप गर्न सकिन्छ कि भन्नेबारे छलफलहरू भइरहेका छन्। यसबारे निर्णय भने १५ औं महाधिवेशनको बन्द सत्रबाट हुनेछ।
महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेछ।
महाधिवेशनमा ७५ सय प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै छलफल गरी पदाधिकारी थप गर्न आवश्यक ठानेमा पदाधिकारी संख्या वृद्धि हुने नेताहरूको भनाइ छ।
अहिलेको विधानअनुसार कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री निर्वाचनबाट ८, मनोनीत सहमहामन्त्री ३ र कोषाध्यक्ष १ जना मनोनीत गरी १७ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।
त्यस्तै, केन्द्रीय कार्यसमिति २३१ सदस्यीय हुने र त्यसमध्ये ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
पार्टीभित्र उपसभापति ३ जना, जसमा एक जना महिला हुने, महामन्त्रीको संख्या ३ पुर्याउने तथा सहमहामन्त्रीको संख्या ११ बाट १५ जना हाराहारी पुर्याउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।
यद्यपि पदाधिकारी संख्या बढाउने विषयमा अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय नभएको प्रवक्ता देवराज चालिसेले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बताए।
उनकाअनुसार विधानमा व्यापक हेरफेरको भने तयारी भइरहेको छ। यसका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गृहकार्य भइरहेको छ।
‘पदाधिकारी बढाउने वा अहिले कायम रहेको संख्या नै राख्ने भन्ने कुरा महाधिवेशन प्रतिनिधिहरूमा निर्भर रहन्छ। यसबारे बन्द सत्रमा व्यापक छलफल हुन्छ र निर्णयमा पुग्छौं,’ प्रवक्ता चालिसेले भने।
उनले पदाधिकारी संख्या बढाउनेबारे बाहिर चर्चा धेरै सुनिए पनि पार्टीभित्र त्यससम्बन्धी आन्तरिक गृहकार्य, औपचारिक प्रस्ताव वा निर्णय भइनसकेको दाबी गरेका छन्।
महामन्त्री प्रदीप पौडेलका अनुसार यो पदाधिकारी संख्या वृद्धिलगायत विषय विधान संशोधनमा आउने विषय हो।
‘यस्ता विषय विधान संशोधनका क्रममा आउने कुरा हुन्, अहिलेसम्म केही टुंगिएको छैन, विधान संशोधनका विभिन्न विषय संशोधन वा थप गर्ने, अहिलेका प्रावधानहरूलाई पुनरवलोकन गर्नेलगायत संशोधन प्रस्ताव बन्द सत्रमा लैजान्छौं,’ उनले भने, ‘यी सबै कुरा छलफलकै चरणमा छन्।’
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यतिबेला १४ जना पदाधिकारी रहने व्यवस्था थियो। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित भएर आउने व्यवस्था थियो।