चलचित्र निर्देशक मीन भामले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
मुगुबाट महाधिवेशन प्रतिनिधि चयन भएका भामले ‘पिछडिएको क्षेत्र’बाट सहमहामन्त्रीमा उम्मेदवारी दिने जानकारी दिएका छन्।
भाम चलचित्र निर्देशनसँगै लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्।
उनले कांग्रेसको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन्।
उनी २०७८ को स्थानीय तह निर्वाचनका लागि कांग्रेसको घोषणापत्र लेखन समितिमा बसेर काम गरेका थिए।
२०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गठन गरेको घोषणापत्र लेखन समितिमा पनि उनी सदस्य थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनको नाम कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा समेत समावेश थियो।
पछिल्लो समय उनी कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्य छन्।