राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन्।
पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुखको मनोनयन गरेको छ।
- प्रवास सम्पर्क विभागमा मनिष झा
- आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान
- कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य
- सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा
- सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य
- सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल
- विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल
- कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता
- श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी)
- आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल
- विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द
- संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी
- वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी।
अभियान तथा प्रचारप्रसार विभागका उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागका उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) मनोनयन भएका छन्।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ।
मधेस प्रदेशमा पार्टी संगठनमा देखिएका समस्या र त्यसको समाधानबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन पनि बैठकमा पेस भएको छ।
कार्यदलले उक्त प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएको छ।
प्रतिवेदन अध्ययन गरेपछि उपयुक्त कदम चाल्ने रास्वपाले जनाएको छ।
यस्तै, असोज २० देखि २७ गतेसम्म रास्वपाले 'हामी आउँदै छौं' अभियान सञ्चालन गर्ने भएको छ।
अभियान अन्तर्गत केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्लाका ७५३ स्थानीय तहसम्म पुगेर जनता, पार्टीका सदस्य तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन्।
बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।
रास्वपाले काठमाडौं उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि जमिन वा घर खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
बैठकले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै उपत्यकाको पायक पर्ने स्थानमा जमिन वा घर खरिदका लागि खोजी गर्न अनुरोध गरेको हो।
रास्वपा बैठकले विजया दशमी दीपावली छठ लगायतका पर्वमा सबैलाई शुभकामना पनि व्यक्त गरेको छ।