रुसले युक्रेनको राजधानी किभसहित अन्य सहरबाट विदेशी नागरिक तथा कुटनीतिज्ञहरूलाई बाहिरिन आग्रह गरेको छ।
रुसी विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर युक्रेनी सहरहरूमा भीषण हमला जारी रहने भएकाले विदेशी र कुटनीतिज्ञहरूलाई युक्रेन छाड्न भनेको हो।
रूसले आफ्नो पूर्वाधारमाथि गरेको भनिएको हमलाको जबाफमा किभ र अन्य युक्रेनी सहरमा सैन्य संरचनालाई लक्षित गरी हमला जारी राख्ने जनाएको छ।
मन्त्रालयले चेतावनी बेवास्ता गर्दा हुने कुनै पनि प्रतिकूल परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने समेत भनेको छ।
रुसले पछिल्लो समय किभको पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ।
शनिबार भएको हवाई हमलामा डिनिप्रो नदीमाथिको एउटा पुल पनि निशानामा परेको थियो।
राजधानीमा बढ्दो रुसी हमलाले करिब ३० लाख बासिन्दाको दैनिक जीवन प्रभावित भएको र जाडोयाम नजिकिँदै गर्दा अवस्था थप कठिन बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
पछिल्ला महिनामा रुस र युक्रेनले काला सागरमा एकअर्काका अन्न ढुवानी गर्ने पानी जहाजमाथिको हमला पनि बढाएका छन्।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्र तथा अन्य उद्योगमाथि हमला गरिरहेको छ भने रुसी सीमावर्ती क्षेत्रमा युक्रेनी ड्रोन हमलाबाट सर्वसाधारणको मृत्यु हुने गरेको रुसको दाबी छ।
यद्यपि, रुस र युक्रेन दुवैले सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई आफ्नो निशाना नबनाएको दाबी गर्दै आएका छन्। तर दुवै पक्षले एकअर्कामाथि नागरिक संरचना लक्षित गरेको आरोप लगाउँदै आएका छन्।