नेपाली कांग्रेसका नेता दीपक गिरीले उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनले १५औँ महाधिवेशनमा आफू उपसभापति पदमा उम्मेदवारी दिने जानकारी दिएका छन्।
केन्द्रीय सदस्य गिरी दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशनमा निर्वाचित भएपछि महासमिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए।
पूर्वमन्त्री गिरीले अनुभवी नेतृत्वको मार्गदर्शन र युवा शक्तिको ऊर्जा एवं सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको उल्लेख गरेका छन्।
साथै, उनले अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउँदै कांग्रेसको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने चाहना व्यक्त गरेका छन्।
‘मेरो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसका हरेक चुनौती, आन्दोलन र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको छु,’ उनले भने, ‘पार्टीको एकनिष्ठ कार्यकर्ताका रूपमा विभिन्न क्षेत्रमा गरेको योगदान, संघर्ष र लामो अनुभवलाई आत्मसात गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित आज म नेपाली कांग्रेसको उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।’