नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरू हुँदैछ।
आइतबार दिउँसो २ बजे महाधिवेशन औपचारिक उद्घाटन हुने प्रवक्ता देवराज चालिसेले बताए।
कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङ गर्न ८ स्थानमा व्यवस्था मिलाएको छ।
कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल तोकिएको छ।
यसैगरी, काठमाडौँ उपत्यकाबाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए।
धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क पार्किङको व्यवस्था गरिएको छ।
कांग्रेसले नेता तथा कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ। आफू सवारीसाधन लिएर आएको क्षेत्रका लागि तोकिएको पार्किङ स्थलमा सवारीसाधन व्यवस्थापन गरेर महाधिवेशन स्थलमा आउन कांग्रेसले प्रतिनिधि तथा नेता–कार्यकर्तालाई आग्रहसमेत गरेको छ।
त्यसो गर्दा सवारी आवागमन व्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ।
आइतबारदेखि असोज २२ गतेसम्म कांग्रेस महाधिवेशन हुनेछ।