नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेको छ। देउवा अनुपस्थित रहे सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्नेछन्।
महाधिवेशन उद्घाटनमा शुभकामना दिन कांग्रेसले स्वदेश तथा विदेशका विभिन्न पार्टीहरूलाई निम्ता गरेको छ।
उद्घाटन सत्रमा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत आउने कांग्रेस नेताहरूको भनाइ छ।
साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा नआउने भएका छन्। एमाले प्रवक्ता निरज आचार्यका अनुसार कांग्रेस महाधिवेशनमा महासचिव शंकर पोखरेल सहभागी रहनेछन्।