नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने समझदारी भएको छ।
उक्त समझदारीलाई विधान संशोधन प्रस्तावअन्तर्गत महाधिवेशन बन्द सत्रमा प्रस्तुत गरेर निर्णय गरिने नेताहरूले बताएका छन्।
अहिले सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री (८ निर्वाचनबाट र ३ मनोनीत गरी ११) तथा १ कोषाध्यक्ष सभापतिबाट मनोनीत व्यवस्था छ।
तर अब पदाधिकारी संख्या वृद्धि गर्न लागिएको हो। पदाधिकारीका आकांक्षी बढ्दै गएपछि पदाधिकारी संख्या वृद्धि गर्न लागिएको हो।
उपसभापतिको संख्या ४ पुर्याउने समझदारी बनेको एक पदाधिकारीले सेतोपाटीलाई बताए।
‘अहिलेको विधानमा दुई उपसभापति रहने व्यवस्था छ, त्यसलाई संशोधन गरी एक वरिष्ठ उपसभापतिसहित ४ उपसभापति रहने समझदारी बनेको छ, निर्णय बन्दसत्रबाट हुनेछ,’ ती पदाधिकारीले भने, ‘उपसभापतिमा एक जना महिला अनिवार्य छ, सबै निर्वाचनबाट आउने हो।’
त्यस्तै सहमहामन्त्री पनि थप गर्ने समझदारी नेताहरूबीच भइसकेको छ।
२०७८ सालको १४ औं महाधिवेशनमा विभिन्न कलस्टरका आधारमा सहमहामन्त्री ८ जना निर्वाचित हुने व्यवस्था थियो। गत पुसको विशेष महाधिवेशनबाट यसलाई निरन्तरता दिँदै थप ३ मनोनीत सहमहामन्त्रीसहित ११ पुर्याइएको थियो।
११ जना सहमहामन्त्री बनाउने विधानको व्यवस्था भए पनि त्यसमा पनि थप गर्ने सहमति भएको हो। दुई सहमहामन्त्री थपेर १३ जना सहमहामन्त्री बनाउने सहमति जुटेको छ।
‘११ जना निर्वाचनबाट आउनेछन् भने दुई सहमहामन्त्री केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ,’ ती पदाधिकारीले भने।
केही नेताहरूले महामन्त्री पनि बढाएर ३ पुर्याउन आग्रह गरेका थिए तर महामन्त्री २ जना नै रहने समझदारी छ।
नेताहरूले सभापति गगन थापालाई पदाधिकारी संख्या बढाउन सुझाव दिए पनि धेरै पद मनोनीत राख्न आग्रह गरेका थिए। तर सभापति थापा मानेनन् र निर्वाचनबाट आउने प्रस्ताव गरेका छन्।
कांग्रेस १५ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ। सोमबार र मंगलबार बन्द सत्र चल्नेछ भने त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।