युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले हमला गरे उसको तेल प्रशोधन केन्द्रमा हमला गरेर जबाफ दिने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा जेलेन्स्कीले रूसका तेल प्रशोधन केन्द्रमा हमला बढाउने चेतावनी दिएका हुन्।
उनले रूसले आगामी जाडो यामलाई लक्ष्य गर्दै नागरिक पूर्वाधारहरूमा हमला गर्न लागेको खुफिया सूचना प्राप्त भएको र त्यसमा जबाफ दिने बताएका हुन्।
रूसी विदेश मन्त्रालयले शनिबार सूचना नै जारी गरी विदेशी नागरिक र कुटनीतिज्ञहरूलाई युक्रेनको राजधानी किभ र अरू सहरहरू छाड्न चेतावनी दिएको थियो। उसले त्यहाँ हमला बढाउने बताउँदै चेतावनीका बाबजुद सहर नछाडे त्यसको जिम्मेवारी रूस नहुने बताएको थियो।
'उनीहरूलाई हाम्रा पूर्वाधार, ढुवानी, गाउँ/सहरका सडक, विद्यालय र अस्पतालमा पनि हमला गर्न अनुमति दिइएको छ भन्ने सूचना पाएका छौं,' जेलेन्स्कीले रोयटर्ससँग भनेका छन्, 'मानिसहरूलाई राजधानी छाड्न दबाब दिने उद्धेश्य देखियो।'
यसको जबाफमा हामी उनीहरूको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछौं।
'हामी नागरिकका लागि अत्यावश्यक पूर्वाधारमा हमला गर्दैनौं। तर युद्धका लागि खर्च जुटाइरहेको आम्दानीको स्रोतमाथि हमला बढाउँछौं,' उनले भने।
रुसले पछिल्लो एक सातादेखि किभमा ड्रोन र क्षेप्यास्त्रबाट लगातार हमला गरिरहेको छ।
ऊर्जा तथा दूरसञ्चार संरचना, सडक र रेल पूर्वाधारलाई निशाना बनाइएको र यस क्रममा पहिलोपटक डिनिप्रो नदीमाथिका किभलाई जोड्ने पुलहरूमाथि पनि हमला भएको जेलेन्स्कीले बताए।
‘हामीले कुनै न कुनै रूपमा जवाफ दिनुपर्छ। उनीहरूले हाम्रो ऊर्जामाथि हमला गरेपछि हामीले उनीहरूको ऊर्जामाथि जवाफ दिनुपर्छ। सबैभन्दा पहिले तेल प्रशोधन केन्द्रहरू, जसले उनीहरूलाई यो युद्धका लागि पैसा दिन्छन्,’ जेलेन्स्कीले भने, ‘तर उनीहरूले जस्तै कुनै पनि नागरिक संरचनामाथि हामी हमला गर्ने छैनौँ।’
जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा युक्रेनले ‘भिभाल्डी’ नाम दिइएको जबाफी हमला जारी राखेको र करिब १४० वर्ग किलोमिटर जमिन फिर्ता लिएको दाबी गरेका छन्। रुसले भने शान्ति सम्झौताका लागि डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आउनुपर्ने बताउँदै आएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेको छ।
ट्रम्पले गत महिना रुसी तेल संरचनामाथि हमला नगर्न युक्रेनलाई आग्रह गरेका थिए। तर जेलेन्स्कीले रुसका तर्फबाट युद्धविराम वा शान्ति वार्तामा रुचि देखाउने कुनै संकेत नपाएको बताएका छन्।
जेलेन्स्कीले डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको पनि बताएका छन्।
तर रुसले डोनबासमाथि नियन्त्रण पाएपछि मात्रै युद्ध अन्त्य गर्छ भन्ने भ्रममा नपर्न उनले अमेरिकालाई आग्रह गरेका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले आगामी जाडोमा विद्युत् र पानीको संरचनामाथि ठूलो हमला गर्न सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गरेको छ।
गत जाडोमा रुसी हमलाका कारण युक्रेनका ठूलो भूभागमा विद्युत् र ताप प्रणाली दिनौँसम्म अवरुद्ध भएको थियो।