नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा समूहबाट केन्द्रीय सदस्य पदका लागि खगेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
उनले युवा पुस्ताको अर्थपूर्ण सहभागिता, उद्यमशील सोच र नवप्रवर्तनमा आधारित राजनीतिक एजेन्डालाई प्राथमिकता दिने बताएका छन्।
कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाबाट प्रदेश र खुला प्रतिस्पर्धामार्फत कुल २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
काठमाडौं क्षेत्र नं. ३ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित आचार्य उद्यमशीलता, नवप्रवर्तन, स्टार्टअप र रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय छन्।
उनी कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक हुन्। यसअघि उनले उद्यमशीलता तथा साना–मझौला उद्योग विभागमा सदस्य तथा सचिवका रूपमा काम गरेका थिए।
आचार्यले स्टार्टअप, साना तथा मझौला उद्योग, युवा उद्यमशीलता, महिला उद्यमशीलता, स्थानीय उत्पादन र डिजिटल प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन्।
युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउँदै कांग्रेसलाई प्रविधिमैत्री, अनुसन्धानमुखी र परिणाममुखी संगठन बनाउनुपर्ने उनको धारणा छ।