नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।
विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाइलीले सभापति गगनकुमार थापाको नेतृत्वमा पुनः उम्मेदवारी दिन लागेको बताएका हुन्।
उनले थापाको नेतृत्वमा कांग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा अघि बढाउने र मुलुकका चुनौती तथा नागरिकमा देखिएको निराशालाई सम्बोधन गर्ने आफ्नो लक्ष्य रहेको बताए।
‘यो महाधिवेशनबाट फेरि पनि गगन थापाकै नेतृत्वमा मैले सहमहामन्त्रीको रूपमा आफ्नो उम्मेदवारी तय गरेको छु,’ उनले भने।
रसाइलीले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिका चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र अन्य नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
रसाइली १४औँ महाधिवेशनमा दलित समावेशीतर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १५औँ महाधिवेशनका लागि उनी बझाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।