नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गरी कांग्रेसको खस्किएको शाख फर्काउन आफूले उम्मेदवारी दिएको बताए।
उनले संवैधानिक निकायमा हुने दलीय भागबन्डा रोक्नुपर्ने र बीपी कोइरालाको विचार तथा सिद्धान्तलाई आत्मसात् गर्दै काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको बताए।
खरेल पाँचखाल नगरपालिकाका लगातार दोस्रो कार्यकालका प्रमुख हुन्।