नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्थाको प्रस्ताव अघि सारेका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको महाधिवेशन सुरू भएको छ। उक्त महाधिवेशनमा सभापति थापाले प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव अघि सारेका हुन्।
प्रधानमन्त्रीको कार्यकालमा सीमा तोक्ने प्रस्तावले कार्यकारी नेतृत्वमा लामो समयसम्म एउटै व्यक्ति रहने अवस्थालाई संवैधानिक व्यवस्थामार्फत सम्बोधन गर्न खोजेको देखिन्छ।
त्यसैगरी निर्वाचनमा ‘नन अफ द अबभ’ (राइट टु रिजेक्ट) को विकल्प र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनमा नेपालको निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने तथा राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पार्टीको रूपान्तरण गर्ने विषय समेटिएका छन्।
विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिने प्रस्तावले देशबाहिर रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयलाई जोड दिएको छ।
प्रतिवेदनमा निर्वाचन प्रणालीलाई थप समावेशी, सहभागीमूलक र पारदर्शी बनाउने विषयसँगै पार्टीको आन्तरिक संरचना र कार्यशैलीमा सुधार गर्ने एजेन्डा पनि अघि सारिएको छ।