नागरिक उन्मुक्ति नेपालका संस्थापक तथा संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटनमा एउटा गीत सुनाए।
उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा र नख्खु कारागरमा भेट्न जाँदा सुनाएको गीत स्मरण गरेका हुन्।
रेशमले रविलाई सम्झाएको गीत यस्तो थियो—
चार दिवारमा थुनिएर आजभोलि मन्द छु
धेरै भोट पाएर होला आजभोलि बन्द छु
छातीमा छ लोगो सांसद पदको
बाटो देखायौ सरकार कालोकोठरीको
यो गीत सुनाएर उनले भने, 'धेरै लोकप्रिय भइयो, धेरै मन पराइयो भने जाने बाटो झ्यालखाना रहेछ।'
चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण पनि गराए।
उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरे।
चौधरीले नेपाली कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरे।
उनले ६–७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भनी प्रश्न गरे।
'आजका सभापति गगन थापा हुनुहुन्छ। तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौं। हामीले पनि लाठी खायौं, पानीका फोहोरा खायौं। १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौं। त्यो आन्दोलनमा हामीले गणतन्त्र ल्यायौं। त्यति बेला हामीले नारा लगायौं- नेपाली काँग्रेस जिन्दावाद, हाम्रो नेपाल जिन्दावाद, गणतन्त्र नेपाल जिन्दावाद,' उनले भने, 'तर गगनजी, एउटा प्रश्न छ। त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो?'
उनले पहिचानसँग कुनै पनि कुराको साटफेर गर्न नपाइने उल्लेख गर्दै भने, 'हाम्रो दसैंको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरंगी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौं। हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन्।'