जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू भएको नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सम्बोधन गर्दै मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख गरेका हुन्।
उनले वर्तमान चुनौतीहरू पार लगाउन प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको औंल्याए।
‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने, ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन। नेपाली जनताले लोकतन्त्रको कुनैपनि संकुचन स्वीकार गर्ने छैनन्।’
–न्युज एजेन्सी नेपाल