नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्।
तर सरकारले राजनीतिक दल, संसद र नागरिकसँग संवाद नगरेको भन्दै उनले प्रधानमन्त्री बालेन शाहको आलोचना गरेका छन्।
नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षासहित विभिन्न चुनौतीको बाटोबाट अघि बढिरहेको बताए।
'हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ,' उनले भने, 'तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन।'
यस्तो अवस्थामा भविष्यमा आउन सक्ने प्राकृतिक विपत्ति र संकटको सामना कसरी गर्ने भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको उनले बताए।
'लोकतन्त्रको भविष्यतर्फ हेर्दैछौं कि अधिनायकवादतर्फ?'
पोखरेलले सरकारको काम गर्ने तरिकाबाट लोकतन्त्रको भविष्यमाथि नै चिन्ता उत्पन्न भएको बताए।
'जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न,' उनले भने।
यस्तो अवस्थामा नेपाल लोकतन्त्रको भविष्यतर्फ अघि बढिरहेको हो कि स्वेच्छाचारी शासन र अधिनायकवादतर्फ भन्ने प्रश्न उपस्थित भएको उनले बताए।
'यो अवस्थामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्र रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्न पुगेको छ,' उनले भने।
पोखरेलले नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू विगतमा मिलेर राणाशाही, पञ्चायत र राजा ज्ञानेन्द्रको तानाशाही परास्त गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षाका लागि फेरि एक पटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको बताए।
'जसरी हिजो हामी नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसैगरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एक पटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,' एमाले महासचिव पोखरेलले भने।
झन्डै दुई-तिहाइको जनादेशपछि पनि आशंका
महासचिव पोखरेलले जनताको जनादेशपछि बनेको झन्डै दुई-तिहाइको बलियो सरकारले स्थायित्वको आधार तयार गर्ने अपेक्षा गरिएको उल्लेख गरे।
'जनताको जनादेशपछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं,' उनले भने, 'तर अहिले नेपालमा भू–राजनीतिक द्वन्द्वका कारण देशको भविष्य के हुने हो भन्ने प्रश्न खडा भएको छ।'
पोखरेलले देशको अस्मिता र सार्वभौमसत्ताको रक्षाका लागि नेपालका राजनीतिक दलहरू राष्ट्रियताको प्रश्नमा एकठाउँ उभिनुपर्ने बताए।
नेपाली जनता र छिमेकी राष्ट्रहरूलाई पनि नेपाल भू–राजनीतिक द्वन्द्वको चपेटामा नपर्ने र नेपालको अस्तित्वमाथि संकट नआउने विषयमा आश्वस्त पार्नुपर्ने उनको भनाइ थियो।
'नेपाली जनतालाई आश्वस्त पार्नुपर्ने भएको छ, हाम्रा छिमेकी राष्ट्रहरूलाई आश्वस्त पार्नुपर्ने भएको छ— नेपाल भू–राजनीतिक द्वन्द्वको चपेटामा परेर हाम्रा छिमेकीहरूको सुरक्षामा कुनै प्रकारको खलल पुग्ने छैन, नेपालको अस्तित्वमाथि कुनै प्रकारको संकट आउने छैन भन्ने कुराको आधार र सुनिश्चितता हामीले दिनुपर्नेछ,' उनले भने।
त्यसका लागि नेपालका राजनीतिक दलहरू राष्ट्रियताको प्रश्नमा एकठाउँ उभिनुपर्ने उनले बताए।
सुशासन र सेवा प्रवाहप्रति पनि प्रश्न
पोखरेलले नेपाली जनताले परिवर्तन चाहनुको कारण सुशासन, सेवा प्रवाह र तीव्र विकास रहेको बताए। तर अहिले सुशासन अघि बढ्न नसकेको र सेवा प्रवाहको प्रक्रिया झन् लथालिंग हुन थालेको उनले उल्लेख गरे।
नयाँ पुस्ताका सपना, आशा र अपेक्षालाई फेरि निराशामा बदल्न नहुने उनको भनाइ थियो।
'नयाँ पुस्ताका सपनाहरूलाई, आशाहरूलाई, अपेक्षाहरूलाई अब फेरि निराशामा बदल्न दिनुहुँदैन, आशामा बदल्नुपर्दछ,' उनले भने।
त्यो आशालाई वास्तविकतामा बदल्न इतिहासको गौरवलाई भविष्यको योजना र संकल्पमा बदल्नुपर्ने उनले बताए।
'इतिहासले कसैलाई सिक्न बाध्य गर्दैन, इतिहासबाट सिक्न नसक्नेहरूलाई सजाय दिइन्छ। कतै हामी त्यो सजायको प्रतीक्षा त गरिरहेका छैनौं?' उनले प्रश्न गरे।
उनले कांग्रेसको १५औं महाधिवेशनले नयाँ पुस्ताको अपेक्षा र भावनालाई सम्बोधन गर्ने विषयमा अघि बढ्न सकोस् भन्दै शुभकामना दिए।
जलवायु परिवर्तनले असुरक्षित बन्दै भविष्य
पोखरेलले जलवायु परिवर्तनका कारण नेपाल चरम संकटमा रहेको उल्लेख गरे।
'भर्खरै हामीले लाङटाङ हिमालमा गएको हिमपहिरोका कारण भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका पीडाहरूबाट हामी गुज्रेका छौं,' उनले भने, 'अहिले पनि हाम्रा ६ हजारभन्दा बढी दाजुभाइ तथा दिदीबहिनी बेपत्ता छन्। कुशको प्रतीक बनाएर दाहसंस्कार गरेका पीडाहरू अहिले पनि हाम्रा आँखामा झलझली नाचिरहेका छन्।'
यो पीडा रोकिनेवाला नभएको भन्दै उनले वातावरणमा भइरहेको परिवर्तन र हिमालहरू तातिरहेका कारण नेपालको भविष्य असुरक्षित बन्दै गएको बताए।
'हामी नेपालको सुरक्षित भविष्यको यात्रा कसरी कोर्दछौं भन्ने प्रश्न यति बेला महत्त्वपूर्ण बनेको छ,' उनले भने।
उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए।
सूचना प्रविधिको क्रान्तिसँगै राजनीतिक आन्दोलन बदल्नुपर्ने
पोखरेलले सूचना प्रविधिको क्रान्तिले ल्याएको नयाँ मनोविज्ञानलाई विचारधारात्मक क्रान्तिसँग जोड्नु आजको महत्त्वपूर्ण चुनौती भएको बताए।
एमाले र कांग्रेसजस्ता विचारधाराको जगमा खडा भएका पार्टीहरूले सूचना क्रान्तिले ल्याएको नयाँ मनोविज्ञानका आधारमा आन्दोलनलाई नयाँ रूपमा संगठित गर्नुपर्ने उनको भनाइ थियो।
'आजको चुनौती—सूचना प्रविधिको क्रान्तिले ल्याएको नयाँ मनोविज्ञानलाई विचारधारात्मक क्रान्तिमा कसरी जोड्ने भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न हो,' उनले भने।
उनले राजनीतिक दलले केवल अनुहार परिवर्तन गरेर मात्र नयाँ सामाजिक मनोविज्ञानलाई सम्बोधन गर्न नसक्ने बताए।
'अनुहार बदलेर हुँदैन। सूचना प्रविधिको क्रान्तिले ल्याएको सामाजिक मनोविज्ञानमा बदलाव ल्याउनका लागि नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ,' उनले भने।
त्यस्तो नयाँ राजनीतिक क्रान्तिको उद्घोष गर्ने क्षमता कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनले पूरा गर्न सकोस् भन्दै उनले महाधिवेशनको पूर्ण सफलताको कामना गरे।
गगनसँगको त्यो पुरानो सभा सम्झिए
पोखरेलले कांग्रेस सभापति गगन थापासँगको पुरानो राजनीतिक सहकार्य पनि स्मरण गरे।
उनले माघ १९ पछि अनेरास्ववियु र नेविसंघले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको खुला सभामा आफू र थापाले सम्बोधन गरेको बताए।
उनका अनुसार त्यो सभा पहिलो पटक गणतन्त्रका पक्षमा आयोजना गरिएको घोषणा सभाका रूपमा भएको थियो।
'माघ १९ पछाडि अनेरास्ववियु र नेविसंघले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको खुला सभा, पहिलो पटक गणतन्त्रका पक्षमा आयोजना गरिएको घोषणा सभाका रूपमा गगन थापा र मैले सम्बोधन गरेका थियौं र मुलुकलाई गणतन्त्रको दिशामा अगाडि बढाउन नेपालका राजनीतिक दलहरूलाई प्रेरित गर्ने काम गरेका थियौं,' उनले भने।
मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा त्यो ऐतिहासिक दिनको सम्झना गर्न चाहेको उनले बताए।
थापा विशेष महाधिवेशनमार्फत कांग्रेस सभापति निर्वाचित भएको उल्लेख गर्दै पोखरेलले १५औं राष्ट्रिय महाधिवेशनबाट उनी सिंगो कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुने विश्वास र अपेक्षा व्यक्त गरे।
'आज मित्र गगन थापा नेपाली कांग्रेसको सभापतिका रूपमा विशेष महाधिवेशनका माध्यमबाट सभापति निर्वाचित हुनुभयो, सर्वसम्मत रूपमा १५औं राष्ट्रिय महाधिवेशनका माध्यमबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुनेछ भन्ने कुराको विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु,' उनले भने।