नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि समाजमा रहेको आवेगलाई विश्वासमा बदल्न नसकिएको भनेर प्रश्न गरेका छन्।
आइतबार खुलामञ्चमा आयोजित कांग्रेसको १५औं महाधिवेशनमा बोल्दै उपसभापति शर्माले उक्त प्रश्न गरेका हुन्।
‘फागुन २१ मा निर्वाचन भएर नयाँ उत्साहसहितको सरकार बनिसकेर पनि अझै पनि समाजमा हामीले आवेगलाई विश्वासमा लिन किन सकिरहेका छैनौं?’ उनले प्रश्न गरे।
शर्माले सामाजिक सञ्जालमा भइरहेको बहसतर्फ पनि संकेत गर्दै यसबारे गम्भीर भएर सोच्नुपर्ने बताए।
‘किन सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा आनन्दित छौँ? किन हरेक मान्छे हरेकसँग रिसाएको छ, किन हरेक मान्छे हरेकसँग असन्तुष्ट छ, किन हरेक मान्छे हरेकसँग आक्रोशित छ?,’ उनले सोधे।
उनले नयाँ सरकार र जिम्मेवार प्रतिपक्ष रहेको अवस्थालाई मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
‘एउटा बलियो सरकार बनेको बेला एउटा जिम्मेवार प्रतिपक्ष मुलुकमा भएको बेला इतिहासकै सुन्दर घडी यसलाई कसरी बनाउन सकिन्छ? यो आधा दशकलाई उपलब्धिमूलक कसरी बनाउन सकिन्छ?’ उनले भने।