नेपाली कांग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र फरक विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।
१० वर्षपछि खुलेको काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औं महाधिवेशन उद्घाटन गर्दै थापाले खुलामञ्च एउटा चउर मात्रै नभएको बताए।
नेपालको राजनीतिक आन्दोलनमा खुलामञ्चले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै उनले अब देशभर यस्ता 'खुलामञ्च' आवश्यक रहेको उल्लेख गरे।
तर उनको संकेत भौतिक खुलामञ्चतिर मात्रै थिएन।
उनले संसद, सिंहदरबार र राजनीतिक दलभित्रै प्रश्न, असहमति र संवादका लागि ठाउँ साँघुरिँदै गएको बताए।
'संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,' थापाले भने।
थापाले खुलामञ्चलाई नेपाली राजनीतिको खुला संवादको इतिहाससँग जोडे।
बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले यही ठाउँबाट भाषण गरेको स्मरण गर्दै उनले यहीँबाट ठूला दल बनेको र यहीँबाट साना राजनीतिक शक्ति पनि जन्मिएको बताए।
उनका अनुसार खुलामञ्चको विशेषता नै फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गराउनु हो।
'खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,' उनले भने।
त्यसैले अब यस्ता खुलामञ्च पहाडदेखि तराईसम्म, भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म आवश्यक रहेको उनले बताए। त्यसको सुरूआत संसद र सिंहदरबारबाटै हुनुपर्ने उनको भनाइ थियो।
'संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,' उनले भने।
सत्तामा बसेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने बताउँदै थापाले लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नहुने बताए।
संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई अझ खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।
'पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ'
थापाले संसदमा मात्र होइन, आफ्नै पार्टीभित्र पनि प्रश्नका लागि ठाउँ बनाउनुपर्ने बताए।
नेतृत्वमाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
'पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,' उनले भने।
फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने उनले बताए।
लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने बताए।
'म्युजिकल चियर' बन्यो राजनीति
थापाले राजनीतिक दल र नेतृत्वप्रति जनतामा बढेको वितृष्णाको कारण पनि आफ्नो भाषणमा प्रस्तुत गरे।
सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति 'म्युजिकल चियर' जस्तो बनेको उनले बताए।
प्रधानमन्त्री भइसकेका, फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता भइसकेका, फेरि नेतृत्वमै दोहोरिरहने र मन्त्री भइसकेका पनि पटक पटक सत्तामा जाने प्रवृत्तिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने सन्देश गएको उनको भनाइ थियो।
'म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,' उनले भने, 'यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।'
राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको पनि उनले बताए।
फेसबुकदेखि ट्विटर र सार्वजनिक जीवनसम्म हरेक विषयलाई राजनीतिक आँखाबाट हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।
'अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,' उनले भने।
उनका अनुसार राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै 'भुसको आगो' जस्तो फैलियो।
'यो भुसको आगोले सबैलाई एकैपटक खायो,' उनले भने।
त्यसकै पृष्ठभूमिमा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनले बताए।
दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार भए पनि त्यसले जनतासँग पर्याप्त संवाद गर्न नसकेको उनको भनाइ थियो।
'दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,' उनले भने।
भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता–कार्यकर्ता पनि प्रभावित भएको उनले बताए।
'यहीँ हामीले बुझेनौं। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौं,' उनले भने।
विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा नआएको उनले बताए।
'त्यसपछि चुनावमा गयौं, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौं,' उनले भने।
'डेमोक्रेसी र डेलिभरीबीच पुल चाहियो'
थापाले अब कांग्रेसले लोकतन्त्रको कुरा मात्रै गरेर नपुग्ने बताए।
लोकतान्त्रिक व्यवस्थालाई जनताको दैनिक जीवन, रोजगारी, आर्थिक अवसर र सेवा प्रवाहसँग जोड्नुपर्ने उनको भनाइ थियो।
'३५ वर्षदेखि युद्ध किन व्यहोर्यौं? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन? युवा किन पलायन भयो?' उनले प्रश्न गरे।
लामो राजनीतिक संघर्ष र परिवर्तनपछि पनि जनताको जीवनमा अपेक्षित परिवर्तन नआउनुको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने उनले बताए।
'यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौं,' उनले भने।
कांग्रेसले लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीच पुलको काम गर्नुपर्ने उनको भनाइ थियो।
'डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,' थापाले भने, 'पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ।'
कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनले बताए।
'आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,' उनले भने, 'पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।'
'पाँच चुनाव हार्न तयार छौं, सिद्धान्तसँग सम्झौता गर्दैनौं'
थापाले तत्कालको चुनावी लाभभन्दा पार्टीको सिद्धान्त र मूल्यमा अडिनुपर्ने बताए।
'सिद्धान्तमा अडिनुपर्दा हामी पाँचवटा चुनाव हार्न तयार छौं, तर सिद्धान्तसँग सम्झौता गर्दैनौं भन्ने हुनुपर्छ,' उनले भने।
आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी–व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने उनले बताए।
उद्योगीले सम्मान पाउने वातावरण निर्माण गर्दै उत्पादन, लगानी र रोजगारी विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने उनको भनाइ थियो।
उनले १५औं महाधिवेशनलाई नेतृत्व परिवर्तनको प्रक्रियामा मात्रै सीमित नगरी कांग्रेसको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमतामाथि गम्भीर मन्थन गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
'देउवाका लागि कुर्सी खाली राखेका थियौं'
थापाले महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिको प्रसंग पनि उठाए।
देउवाका लागि कुर्सी खाली राखिएको तर उनी नआएको भन्दै उनले पार्टीका नेताहरू कति पटक उनलाई लिन जाने भन्ने प्रश्न गरे।
'पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?' उनले भने।
उनले पार्टीबाट बाहिरिएका केही नेताहरूको सम्बन्धमा पनि अब कांग्रेसले स्पष्ट उत्तर दिनुपर्ने बताए।
'केही साथीहरू छाडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,' उनले भने।
उनका अनुसार १५औं महाधिवेशन कांग्रेसले विगतको समीक्षा गर्दै नयाँ राजनीतिक यात्राको आधार तयार गर्ने अवसर हो।