नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम पनि आजैदेखि सुरू हुने भएको छ।
खुलामञ्चमा आइतबारदेखि सुरू भएको महाधिवेशनमा आज बन्द सत्र हुँदैछ।
बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्द सत्र सुरू हुनेछ।
बन्द सत्रपछि साँझदेखि नै निर्वाचन कार्यक्रम सुरू हुने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिने छ।
मतदाता नामवली प्रकाशन उपर दाबी विरोधका लागि ५ देखि साढे ६ बजेसम्मको समय तोकिएको छ।
साढे ६ देखि साढे ७ बजेसम्म दावी विरोध उपर जाँचबुझ हुनेछ।
त्यसपछ बेलुकी साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारी दर्ता भने मंगलबार हुनेछ। मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
मंगलबार दिउँसो साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोधपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारी फिर्ता लिनका लागि असोज २१ गते बिहान ९ बजेसम्मको समय तोकिएको छ।
त्यसपछि २१ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ।
मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ।
सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम एवम् भातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन।
एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्नेछ।
मतदान सकिएपछि मतगणना सुरू हुनेछ।