नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्ला दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि आत्मसमीक्षा गरेका छन्।
उनले कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको, नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको, सार्वजनिक नियुक्तिमा भागबन्डा र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको स्वीकार गरेका छन्।
थापाका अनुसार यस्ता अभ्यासले कांग्रेसको नैतिक विश्वसनीयता मात्र कमजोर पारेनन्, सार्वजनिक संस्थाको स्वायत्तता र नागरिकको राजनीतिक दलप्रतिको भरोसासमेत कमजोर बनायो।
उनले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु पार्टीको प्रमुख कमजोरी भएको बताएका छन्।
२०६२/०६३ को जनआन्दोलनले शान्ति, लोकतन्त्र, समावेशिता र नयाँ अवसरको अपेक्षा जगाएको तथा शान्ति प्रक्रिया, संविधानसभा र २०७२ को संविधानले त्यसलाई संस्थागत आधार दिएको उल्लेख गर्दै थापाले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, प्रतिनिधित्व र स्थानीय सरकारको विस्तारलाई महत्वपूर्ण उपलब्धिका रूपमा स्वीकार गरेका छन्।
तर नागरिकको अपेक्षा संविधान र राजनीतिक संरचना निर्माणमा मात्रै सीमित नरहेको उनको निष्कर्ष छ।
नागरिकले न्यायमा सहज पहुँच, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र आफ्नै देशमा भविष्य खोजेका थिए।
संविधानमा अधिकार थपिएपछि सरकारी कार्यालयमा अपमान घट्ने, प्रतिनिधित्व बढेपछि आफ्नो आवाज निर्णय प्रक्रियामा पुग्ने र शान्तिपछि उत्पादन, उद्यम तथा रोजगारी बढ्ने अपेक्षा भए पनि धेरै नागरिकका लागि अपेक्षा र दैनिक अनुभवबीचको दूरी घट्न नसकेको उनले बताएका छन्।
सभापति थापाले संविधान निर्माणपछि मुलुकले आफ्नो प्राथमिकता बदल्न नसकेको पनि स्वीकार गरेका छन्। द्वन्द्वबाट शान्ति र संविधानसम्मको संक्रमणमा पहिलो दशकको ठूलो ऊर्जा खर्चिएपछि दोस्रो दशकमा त्यही ऊर्जा सार्वजनिक सेवा, संविधान कार्यान्वयन र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने भए पनि कांग्रेसले त्यसअनुसार आफ्नो प्राथमिकता, कार्यशैली र संस्थागत क्षमता परिवर्तन गर्न नसकेको उनको निष्कर्ष छ।
‘उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दियौँ’
प्रतिवेदनमा सभापति थापाले कांग्रेसले दुई दशकका शासनगत कमजोरीको जिम्मेवारी अरूमाथि पन्छाउन नमिल्ने बताएका छन्।
कांग्रेसले ‘उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दिएको’ उनको निष्कर्ष छ। नीतिगत सहकार्य लेनदेनमा सीमित हुनु, भ्रष्टाचार तथा अनियमितताका प्रश्नमा आफ्नै पक्षलाई जोगाउने प्रवृत्ति, सार्वजनिक नियुक्तिमा भागबन्डा र योग्यताको सम्मान कमजोर बनाउने अभ्यासले पार्टीको नैतिक विश्वसनीयता र संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ।
सरकार परिवर्तनसँगै कार्यक्रम र नीति रोक्ने प्रवृत्तिले नीतिगत निरन्तरता भंग गरेको तथा नेतृत्वको कमजोर कार्यसम्पादन र घट्दो विश्वसनीयताले कांग्रेसले हासिल गरेका वास्तविक उपलब्धिसमेत ओझेलमा परेको सभापति थापाको निष्कर्ष छ।
‘उपलब्धि थिएनन् भन्ने होइन, उपलब्धिको महत्त्व नागरिकको अनुभवमा स्थापित गरेर त्यसैका आधारमा विश्वास कायम राख्न नसक्नु पनि कांग्रेस नेतृत्वको चूक भएको छ,' उनले प्रतिवेदनमा भनेका छन्।
पार्टी जीवनसमेत नागरिकका सरोकारभन्दा टिकट वितरण र गुटीय समीकरणमा सीमित भएको थापाले बताएका छन्। संगठन निर्वाचनकेन्द्रित हुँदा अध्ययन, नीति निर्माण र सामुदायिक काम कमजोर बनेको तथा अवसरमा क्षमताभन्दा नेतृत्वसँगको निकटता हावी भएको उनको भनाइ छ।
निर्वाचनपूर्व गठबन्धनले कांग्रेसको स्वतन्त्र पहिचान र जनसम्बन्ध कमजोर बनाएको उल्लेख गर्दै सभापति थापाले आफ्नै चुनाव चिह्नमा आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने दिशालाई पुनः पुष्टि गर्ने बताएका छन्।
युवालाई पर्याप्त सहभागिता नदिनु र अल्पकालीन सत्ताका लागि राजनीतिक मूल्यमा सम्झौता गर्नुले लोकतन्त्रवादी नागरिकको भरोसा घटाएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यो विश्वास प्रचारबाट नभई आलोचना सुन्ने, गल्ती सच्याउने र आफ्नै पक्षमा समेत नियम लागू गर्ने व्यवहारबाट मात्रै फर्काउन सकिने थापाको निष्कर्ष छ।
युवाको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ
सभापति थापाले कांग्रेसले नेपालको बदलिँदो जनसांख्यिक संरचना, बसोबास र नागरिकका नयाँ अपेक्षालाई राजनीतिक कार्यसूचीमा रूपान्तरण गर्न नसकेको बताएका छन्।
नयाँ पुस्ताले अवसर, सहभागिता र आफ्नो जीवनमा देखिने परिणाम खोजिरहेको, डिजिटल तथा नयाँ सञ्चार माध्यमले सूचना र अभिव्यक्तिको पहुँच विस्तार गरेको तथा आन्तरिक बसाइँसराइ र वैदेशिक रोजगारीले परिवार तथा समुदायको जीवन बदलिरहेको अवस्थामा कांग्रेसले त्यसअनुसार नीति, संगठन र शासनको कार्यशैली बदल्न नसकेको उनको स्वीकारोक्ति छ।
रोजगारीको अभाव र विदेशिनुपर्ने बाध्यताले नेपालमै भविष्य निर्माण गर्न सकिने विश्वास कमजोर बनाएको भए पनि नेतृत्वले त्यसलाई पर्याप्त गम्भीरतापूर्वक नलिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिकूल परिस्थितिलाई मात्र दोष दिएर कांग्रेस आफ्नो कमजोरीबाट उम्कन नसक्ने थापाले स्पष्ट पारेका छन्।
यिनै कमजोरी, पूरा नभएका अपेक्षा र नागरिकसँग बढ्दै गएको दूरीले असन्तोष गहिरिँदै गएको उनको निष्कर्ष छ। राजनीतिक व्यवस्था र नेतृत्व फेरिए पनि दैनिक जीवनमा अपेक्षित सुधार नदेखिएपछि निराशा शासन र सार्वजनिक संस्थाप्रतिको अविश्वासमा परिणत भएको उनले बताएका छन्।
विशेषगरी नयाँ पुस्ताले अवसर, निष्पक्षता र निर्णय प्रक्रियामा सहभागिता खोजिरहेको अवस्थामा नेतृत्वले त्यसको विश्वसनीय उत्तर दिन नसकेको र समयमै सम्बोधन गर्न नसकिएको यही असन्तोष २०८२ भदौ २३ र २४ गतेको जनउभारमा प्रकट भएको थापाको प्रतिवेदनमा उल्लेख छ।
‘भदौको जनउभारलाई षड्यन्त्र भनेर पन्छाउन मिल्दैन’
थापाले २०८२ भदौको जनउभारलाई नेतृत्वको दोहोरिँदो असफलता, सार्वजनिक संस्थाको घट्दो विश्वसनीयता, कुशासन र भ्रष्टाचारप्रतिको सञ्चित नागरिक असन्तोषको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।
नयाँ पुस्ताले कांग्रेसको ऐतिहासिक योगदानको स्मरणभन्दा वर्तमान कामको हिसाब खोजिरहेको भन्दै उनले तत्कालीन सत्ताको साझेदारका रूपमा ती प्रश्न कांग्रेसतर्फ पनि लक्षित भएको स्वीकार गरेका छन्। नागरिकको आवाज समयमै सुन्न, समस्याको गम्भीरता बुझ्न र सुधारका लागि प्रभावकारी हस्तक्षेप गर्न कांग्रेस चुकेको उनको निष्कर्ष छ।
भदौको जनउभारलाई लिएर देखिएका दुई प्रवृत्तिमाथि पनि थापाले टिप्पणी गरेका छन्।
सत्तामा रहेका शक्तिले आफ्नो शासनका कमजोरीको हिसाब दिनुको सट्टा आन्दोलनलाई षड्यन्त्रका रूपमा व्याख्या गर्दै नागरिकको वास्तविक असन्तोष अस्वीकार गर्न खोजेको उनको भनाइ छ।
अर्कोतर्फ नयाँपनको दाबी गर्ने शक्तिले नागरिकको आक्रोश र आन्दोलनको ऊर्जालाई आफ्नै राजनीतिक स्वार्थअनुकूल प्रयोग गर्दै परिवर्तनको एकल प्रतिनिधि बन्न खोजेको उनले बताएका छन्।
यी दुवै प्रवृत्तिले नागरिकको स्वतन्त्र विवेकलाई आफ्नो सुविधाअनुसार व्याख्या गर्न खोजेको थापाको निष्कर्ष छ।
उनले जनआक्रोश कसैको निजी राजनीतिक सम्पत्ति होइन। सत्तामा बस्नेले नागरिकको आवाज अस्वीकार गर्न पाउँदैन भने नयाँ राजनीतिक शक्तिले पनि त्यसको सम्पूर्ण स्वामित्व दाबी गर्न पाउँदैन।
‘जायज आक्रोशका सबै निष्कर्ष सही हुँदैनन्’
कांग्रेसले भदौको आन्दोलनका मूल मागलाई वास्तविक र जायज माने पनि त्यसबाट निकालिएका सबै निष्कर्ष सही नहुने थापाले बताएका छन्।
संस्थाको कमजोरीलाई संस्था नै समाप्त गर्ने औचित्य बनाउनु, हिंसा र विनाशलाई परिवर्तनको साधन मान्नु तथा कुनै व्यक्तिको इच्छाशक्तिलाई लोकतान्त्रिक प्रक्रियाको विकल्प ठान्नु स्वीकार्य नहुने उनको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसको राजनीतिक उत्तर भने नागरिकका माग सुन्ने, आफ्ना चूक सच्याउने र लोकतान्त्रिक संस्थालाई परिणाम दिन सक्ने बनाउने हुनुपर्ने उनले बताएका छन्।
भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गर्दै थापाले घटनाको क्रम, प्रकृति र जिम्मेवारीबारे उठेका प्रश्नको उत्तर तथ्य र प्रमाणबाट खोजिनुपर्ने बताएका छन्।
हत्या, दमन, मानवअधिकार उल्लंघन, हिंसा र विनाशमा जिम्मेवार जोसुकै भए पनि कानुनी जवाफदेहितामा ल्याउनुपर्ने तथा पीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने उनको माग छ।
युवासँग विश्वास माग्ने पार्टीले न्यायको प्रतिबद्धतालाई वक्तव्यमा सीमित नराखी अनुसन्धान, कानुनी प्रक्रिया र पीडितसँगको निरन्तर संवादमा रूपान्तरण गर्नुपर्ने उनले बताएका छन्।
पराजयपछि प्रतिपक्षको भूमिकामा कांग्रेस
जनउभारको मूल राजनीतिक सन्देश नीति, कार्यपद्धति, राजनीतिक प्रवृत्ति र नेतृत्वमा परिवर्तनको माग रहेको भन्दै कांग्रेस त्यसलाई सम्बोधन गर्न दोस्रो विशेष केन्द्रीय महाधिवेशनमा गएको थापाले बताएका छन्।
विशेष महाधिवेशनबाट आत्मसमीक्षा, सार्वजनिक क्षमायाचना, नेतृत्व तथा कार्यशैलीमा परिवर्तन र राष्ट्रिय पुनर्जागरणको संकल्प अघि बढाइएको भए पनि त्यसले तत्काल नागरिकको विश्वास फर्काउन नसकेको उनले स्वीकार गरेका छन्।
पुराना राजनीतिक अनुभवको भार तत्काल हट्न नसकेको र नागरिकको दृष्टिमा कांग्रेसको परिवर्तन ढिलो तथा अपर्याप्त देखिएको उनको निष्कर्ष छ।
निर्वाचनमा पराजित भएपछि कांग्रेसलाई जनादेशले प्रतिपक्षको जिम्मेवारी दिएको उल्लेख गर्दै थापाले अब सरकारको निगरानी, नागरिकका मागको प्रतिनिधित्व र विश्वसनीय विकल्प निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
जनतासँग मागिएको क्षमालाई कार्यक्रम र व्यवहारमा बदल्न नसके त्यो पनि अर्को निराशाको कारण बन्ने उनको चेतावनी छ।
युवाका नीतिगत माग र जनअसन्तोषका अन्तर्निहित कारणको वस्तुनिष्ठ अध्ययन गर्न स्वतन्त्र युवा विज्ञहरू सम्मिलित विशेष कार्यदल गठन गर्ने प्रस्तावसमेत थापाले अघि सारेका छन्। उक्त कार्यदलको सिफारिसलाई पार्टीको रणनीतिक नीति निर्माणमा अनिवार्य रूपमा लागू गरिने प्रतिवेदनमा उल्लेख छ।
‘पराजयले इतिहास र भविष्य परिभाषित गर्दैन’
१५औँ महाधिवेशनले दोस्रो विशेष महाधिवेशनबाट सुरु भएको पार्टी नवीकरणलाई निरन्तरता दिँदै निर्वाचनको सन्देशलाई स्पष्ट नीति, संगठनात्मक सुधार र सार्वजनिक जवाफदेहितामा रूपान्तरण गर्नुपर्ने थापाको निष्कर्ष छ।
उनले कांग्रेसको निर्वाचन पराजयलाई केवल तत्कालीन चुनावी परिणामका रूपमा नभई दुई दशक लामो राजनीतिक यात्रामा नागरिक र पार्टीबीच बढेको दूरी, सत्ता–केन्द्रित राजनीतिक अभ्यास, पूरा हुन नसकेका वाचा र नयाँ पुस्ताका बदलिँदा आकांक्षाको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।
‘पराजयले हाम्रो सम्पूर्ण इतिहास र भविष्यलाई परिभाषित गर्दैन, तर त्यसको अर्थ बुझेर गल्ती सच्याउने जिम्मेवारीबाट पनि मुक्त गर्दैन’ भन्ने निष्कर्षसहित थापाले १५औँ महाधिवेशनलाई कांग्रेसका लागि नेतृत्व परिवर्तनभन्दा धेरै ठूलो राजनीतिक पुनर्निर्माणको अवसरका रूपमा अघि सारेका छन्।
उनको प्रतिवेदनको मूल सन्देश कांग्रेसले विगतको योगदानमा मात्र भरोसा गरेर अबको राजनीति धान्न नसक्ने र नागरिकसँगको विश्वास पुनःस्थापित गर्न सत्ता, संगठन र राजनीतिक व्यवहारमै परिवर्तन देखाउनुपर्ने भन्ने रहेको छ।