नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका चौधरीले उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
चौधरीले आफूनिकटहरूलाई उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन्।
कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित ४ उपसभापति प्रस्ताव छ।
सेतोपाटीसँगको कुराकानीमा चौधरीले अहिले खुलामञ्चमा केन्द्रीय समिति बैठकमा सहभागी हुन जाँदै गरेको त्यसपछि मात्र औपचारिक रूपमा उम्मेदवारीबारे धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिए।
चौधरी मधेसी कलस्टरबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका थिए।
चौधरी यही क्षेत्रबाट गत फागुनको निर्वाचनमा उम्मेदवार रहे पनि रास्वपा उम्मेदवारसँग पराजित भएका थिए।
चौधरी गत वर्ष पुसमा भएको विशेष महाधिवेशनमा पनि सहभागी थिए भने उक्त महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए।
उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
साथै चौधरी २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसदसमेत भएका थिए।