ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारो र वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।
आइतबार भएको पहिलो चरणको मतदानमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै पुर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोले लुलालाई झिनो मतान्तरले पछि पारे।
निर्वाचन आयोगका अनुसार लगभग सबै मतगणना सकिँदा फ्लाभियोले ४७ प्रतिशत मत पाएका छन्। लुलाले ४५ प्रतिशत मत पाएका छन्।
पहिलो चरणको मतदानअघि सार्वजनिक भएका निजी सर्वेक्षणहरूले लुला करिब तीन प्रतिशत अंकले अगाडि रहने अनुमान गरेका थिए। अब लुला र फ्लाभियोबीच अक्टोबर २५ मा दोस्रो चरणको निर्वाचन हुनेछ। कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नल्याएकाले दोस्रो चरणको निर्वाचन हुन लागेको हो।
निर्वाचनमा ब्राजिलियन मतदाताका दैनिक जीवनसँग जोडिएका विषय मुख्य बनेका थिए। महँगी, भ्रष्टाचार, बेरोजगारी र सुरक्षा प्रमुख मुद्दा थिए।
पछिल्लो समय ल्याटिन अमेरिकाका केही देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिक रहेका दक्षिणपन्थी दलहरूले चुनाव जित्दै आएका छन्। ब्राजिलको चुनावलाई पनि त्यसैको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
पहिलो चरणको नतिजापछि ब्रासिलियामा पत्रकारहरूसँग कुरा गर्दै फ्लाभियोले आफू परिणामबाट खुसी रहेको बताए।
‘ब्राजिल परिवर्तन चाहन्छ,’ उनले भने। उनले लुलाको वर्कर्स पार्टीको शासनको ‘अन्त्य’ हुन लागेको दाबी गरे।
फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन्। जायर बोल्सोनारो २०२२ को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा अहिले २७ वर्षको जेल सजाय भोगिरहेका छन्।
फ्लाभियोले यसपटक आफ्ना बुबाको राजनीतिक विरासतलाई अघि बढाउँदै चुनावी अभियान सञ्चालन गरेका थिए।
पहिलो चरणमा अपेक्षाभन्दा राम्रो नतिजा आएपछि उनको अभियान थप उत्साहित भएको छ।
फ्लाभियो बोल्सोनारोको पक्षमा देखिएको बलियो प्रदर्शनले ब्राजिलको मुद्रा र सेयर बजारलाई समेत सकारात्मक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। व्यापारमैत्री नीतिको पक्षमा रहेका फ्लाभियो बोल्सोनारोको सम्भावनालाई बजारले सकारात्मक रूपमा लिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)