स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
युवाहरूको नेतृत्वमा प्रवेशका लागि महाधिवेशन कोशेढुंगा बन्ने अपेक्षा उनको छ।
तिवारीले आफ्नो पालिकालाई देशभरकै स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारको रूपमा स्थापित गरेका छन्।
सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमध्येका तिवारी युवा व्यवसायी पनि हुन्। सक्रिय राजनीति गर्नुअघि उनले विभिन्न स्टार्टअप, इनोभेसन र लगानी कम्पनीमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका छन्।
अध्यक्ष तिवारीले गाउँपालिकाले दिने सेवामा उल्लेख्य सुधार गर्नुका साथै सो गाउँपालिकाको पहिचान बढाउनका लागि नवीनतम योजनाहरू लागू गरेका छन्।
पालिकामा धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि उनले नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत गराएका छन्। जसले गाउँपालिकाको मात्रै नभएर समग्र गाउँकै आर्थिक गतिविधिमा ठूलो सहयोग पुर्याएको छ।
यो महाधिवेशनमार्फत युवाहरू नेतृत्वमा आएर पार्टीलाई नयाँ गति र उचाइ दिने विश्वासका साथ गाउँपालिका अध्यक्ष तिवारीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्।
आफूले पार्टीका विभिन्न मोर्चामा रहेर प्रमाणित गरिसकेकाले १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्य पदका लागि दाबेदारी प्रस्तुत गरेको उनले बताए।
पार्टीमा उनको प्रतिनिधित्वले युवा व्यवसायी र राजनीतिकर्मी दुवैलाई भरोसा मिल्ने दाबी उनको छ।