कडा अनुशासन र 'चेन अफ कमान्ड' भएको नेपाली सेनाभित्र पछिल्ला वर्षहरूमा जागिर छाड्ने (गयल हुने र भगौडा) सैनिकहरूको संख्यामा निरन्तर वृद्धि भएको छ।
रक्षा मन्त्रालयले नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको लिखित प्रश्नको जबाफमा सैनिक सेवा छाड्नेहरुको तथ्याङ्क उपलब्ध गराएको हो।
तथ्याङ्कले सेनाभित्र बिना अनुमति कार्यस्थल छाडेर जाने र लामो समय गयल रहने प्रवृत्ति बढ्दै गएको देखाएको छ।
सेनाले रक्षा मन्त्रालय मार्फत् संसदमा पठाएको तथ्याङ्क अनुसार ५ वर्षको अवधिमा कुल १ हजार ४४३ जना सैनिक उपर विभागीय सजाय तथा सैनिक अदालतबाट कारबाहीका लागि अभियोग पत्र दायर भएको छ।
कारबाहीमा पर्नेमध्ये बिना अनुमति ड्युटी छाड्ने (गयल) र भगौडा हुने सैनिकको संख्या मात्रै ६३० जना छन्। जुन कुल कारबाहीको ४३.६६% प्रतिशत हुन आउँछ।
ड्युटीमा बिना सूचना अनुपस्थित हुने अर्थात् गलय हुने सैनिकको संख्या ५ वर्षभरि नै निरन्तर बढेको छ।
आर्थिक वर्ष २०७८/७९ मा ३३ जना गयल भएकामा. २०८२/८३ सम्म पुग्दा यो संख्या दोब्बरभन्दा बढी भएर ६७ पुगेको छ।
सेनामा भगौडा संख्यामा वृद्धि भएको छ। भगौडा घोषित हुने सैनिकको संख्या आर्थिक वर्ष २०७९/८० मा ६१ जना रहेकामा त्यसपछि निरन्तर बढ्दै आ.व. २०८२/८३ मा ९४ जना पुगेको छ। ५ वर्षमा कुल ४०२ जना सैनिक भगौडामा कारबाहीमा परेका छन्।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभामा लिखित प्रश्न दर्ता गराउँदै सेनाभित्रको बढ्दो अनुशासनहिनता र कारबाहीको सूचना मागेका थिए।
'नेपाली सेना भन्ने बित्तिकै अनुशासन र चेन अफ कमान्डभित्र अनुशासित संगठन भनेर बुझिन्छ। तर पछिल्ला वर्षहरूमा त्यही अनुशासित संगठन नेपाली सेनाभित्र पनि अनुशासनहिनता बढ्दै गएको छ भन्ने सुनिन्छ', राईले दर्ता गराएको प्रश्नमा सोधिएको थियो, 'के यो सत्य हो?'
सैनिक अभियोजन निर्देशनालयले रक्षा मन्त्रालय हुँदै पठाएको जवाफमा तथ्याङ्क मात्र समावेश छ।
तथ्याङ्क अनुसार सेनाभित्र हतियार, सैन्य सरसामान र गोलीगठ्ठा हराएका संवेदनशील घटनाहरू समेत उजागर गरेको छ।
विगत ५ वर्षमा हतियार लगायत अन्य सैन्य सरसामान हराएको कसूरमा १३ जना सैनिक माथि कारबाही गरिएको छ। आ.व. २०८१/८२ मा मात्रै ७ जना सैनिक यस कसूरमा कारबाहीमा परेका थिए।
अघिल्ला चार आर्थिक वर्षमा गोलीगठ्ठा हराएको कुनै घटना दर्ता नभए पनि पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा ५ जना सैनिकमाथि गोलीगठ्ठा हराएको गम्भीर कसूरमा मुद्दा दायर भएको छ।
२०८२ साल भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।
भदौ २४ गते विभिन्न हात हतियार लुटपाटका घटना भएका थिए। तर सेनाको तथ्याङ्कमा कुनै पनि हातहतियार हराएको घटनामा कारबाहीको विवरण छैन।
तर सेनाले गोलीगठ्ठा हराएकोमा ५ जनालाई कारबाही गरेको विवरण दिएको छ।
तथ्याङ्क अनुसार सेनामा अनुशासन उल्ल्घंनमा पछिल्लो तीन वर्षमा कारबाहीमा पर्नेको संख्या घटेको भए पनि पछिल्ला दुई वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३३३ जना कारबाहीमा परेका छन्।
सेनाभित्र विशेषगरी बिना अनुमति जागिर छाड्ने र अनुपस्थित हुने प्रवृत्ति बढ्नुलाई संगठनभित्रको वृत्तिविकास, सेवा-सुविधा र आन्तरिक व्यवस्थापनसँग जोडेर हेर्ने गरिन्छ।