न्याय परिषदको बैठक बोलाइएको छ।
सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीशको पदमा नियुक्ति सिफारिस गर्नका लागि परिषदको अध्यक्ष समेत रहेका प्रधान न्यायाधीश मनोजकुमार शर्माले बैठक डाकेका हुन्।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको परिषदको बैठकले न्यायाधीश नियुक्तिबारे छलफल गरिने भएको हो।
अहिले सर्वोच्चमा चार जना न्यायाधीशको पद रिक्त छ। न्यायाधीश विनोद शर्मा कात्तिक १४ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन्। त्यसो हुँदा सर्वोच्चमा पाँच पद रिक्त हुँदैछ।
न्याय परिषद ऐन, २०७३ को दफा ४ को उपदफा (१) अनुसार उमेर हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ।
यस व्यवस्था अनुसार परिषदको बैठकमा कति जना न्यायाधीश नियुक्ति गर्ने भन्नेबारे छलफल हुनेछ।
एकै पटक पाँच जना न्यायाधीश नियुक्ति सिफारिस गर्ने कि चार जनामात्रै गर्ने भन्नेतर्फ पनि छलफल गरिने परिषद स्रोतले बतायो।
‘भोलिको बैठकमा सर्वोच्चको न्यायाधीश नियुक्तिको विषयमा छलफल प्रारम्भ हुनेछ। पाँच जना न्यायाधीश सिफारिस गर्ने कि चार जना सिफारिस गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ स्रोतले भन्यो।
त्यस्तै, सर्वोच्चको न्यायाधीश पदमा यसपालि जिल्ला र उच्चमा न्यायाधीश भइसकेका व्यक्तिलाई ल्याउने भन्ने विषयमा चर्चा चलेको थियो। पछिल्लो समय कानुन व्यवसायीलाई समेत समेट्ने विषयमा चर्चा हुँदै आएको छ।
परिषद स्रोतले यी विषयमा पनि छलफल सुरू हुने बताए।
‘कुन क्षेत्रलाई कति नियुक्ति गर्ने विषयमा पनि भोलिदेखि नै छलफल सुरू होला,’ उनले भने।
प्रधान न्यायाधीश शर्मा अध्यक्ष रहेको ५ सदस्यीय परिषदमा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।