नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका थापा तरूण दल, जिल्ला कार्यसमिति, केन्द्रीय तरूण विभाग, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी हुँदै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा आफूले निर्णय लिएको बताएका छन्।
पार्टी संगठनलाई थप प्रभावकारी बनाउने र निरन्तर क्रियाशील नेता–कार्यकर्ताको सम्मान तथा हकहितका लागि काम गर्ने उनले बताएका छन्।
थापाले महाधिवेशन प्रतिनिधिले आफूलाई केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरेका छन्।
१५ औँ महाधिवेशनअघि भएको काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। खुलातर्फ उनले १७१ मत पाउँदै सर्वाधिक मत प्राप्त गरेका थिए।
यसअघि पनि उनी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहिसकेका छन्।