नेपाली कांग्रेसले १५ वटा सार्वजनिक संकल्प अघि सारेको छ।
उपसभापति विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशनको बन्द सत्रमा आज प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरण अभिभारा’ प्रतिवेदनमा पार्टीले अब नगर्ने विषयहरू समेटिएका छन्।
लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरणतर्फ बढ्न १५ औँ महाधिवेशनमार्फत कांग्रेस स्पष्ट रूपमा यी १५ सार्वजनिक संकल्प गर्नेसमेत उल्लेख छ।
यस्ता छन् ती संकल्प-
१. व्यक्तिको विचारलाई केन्द्रमा राख्ने, तर विचारको केन्द्रमा व्यक्तिलाई राख्ने व्यक्ति–केन्द्रित राजनीति नगर्ने।
२. फरक विचारलाई आत्मसात् गर्ने, तर त्यसलाई स्थायी गुटका रूपमा विकास नगर्ने।
३. व्यक्तिको प्रभावका आधारमा कुनै पदलाई स्थायी गराएर पटक–पटक दोहोरिने प्रवृत्ति स्वीकार नगर्ने।
४. अवसरअनुसार विचार र सिद्धान्त परिवर्तन नगर्ने।
५. पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने।
६. पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने।
७. नागरिक जनादेशलाई अहंकारमा बदल्ने प्रयास नगर्ने।
८. चुनावी घोषणापत्रलाई कार्यान्वयनविहीन दस्तावेजमा सीमित नगर्ने।
९. कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने।
१०. सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने।
११. सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने।
१२. कलिलो ‘एज’ का कारण परिपक्व ‘एजेन्डा’ लाई नजरअन्दाज नगर्ने र योग्य युवालाई नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने।
१३. समावेशितालाई केवल संख्यामा सीमित नगर्ने तथा अवसरमा उही अनुहार निरन्तर दोहोरिने परम्परा अन्त्य गर्ने।
१४. योगदानको कदर गर्ने तर योगदानलाई मात्रै योग्यताको एकमात्र आधार नबनाउने।
१५. अल्पकालीन स्वार्थलाई संस्था, विचार र लोकतान्त्रिक मूल्यभन्दा माथि नराख्ने।
के गर्छ भन्ने पनि प्रतिवेदनमा उल्लेख छ-
अब हामी यो गर्छौँ: १५ सकारात्मक संकल्प
१) नेतृत्वलाई बलियो बनाउँछौँ, तर संस्थागत क्षमता बढाएर मात्रै संगठन र संगठनको नेतृत्व बलियो बन्न सक्छ भन्ने मान्यतासाथ योजनाबद्ध कार्य गर्नेछौँ।
२) पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिन्छौँ।
३) गुटको सट्टा दृष्टिकोण, योजना, व्यक्तित्व र विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गर्ने संस्कृतिको विकास गर्छौँ।
४) ‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने मान्यतासाथ पार्टीका हरेक सदस्यलाई आयआर्जनसँग जोडिन प्रेरित गर्छौँ, ताकि राजनीतिका कारण उसको पारिवारिक जीवन संकटमा नपरोस् अनि भोलि कुनै आर्थिक अफ्ठ्यारो र अनियमितताको मुद्दामा नपरोस्।
५) उम्मेदवार छनोटका मापदण्ड ‘इलेक्सन ब्युरो’मार्फत सार्वजनिक गर्छौँ।
प्राइमरीको पाइलट प्रोजेक्ट अघि बढाउनेछौँ।
६) चुनावी घोषणापत्रलाई हाम्रा जनप्रतिनिधिको कार्यसम्पादनसँग जोड्छौँ र निश्चित अवधिमा कार्यसम्पादन फेहरिस्त अनिवार्य सार्वजनिक गर्नुपर्ने पद्धति विकास गर्छौँ।
७) निर्वाचित प्रतिनिधिको नियमित सार्वजनिक प्रतिवेदनको संस्कृति बसाउँछौँ।
८) जातीय विभेदलगायत कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा संलग्न पार्टी सदस्यको सदस्यता तत्काल खारेज गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नेछौँ।
९) सरकारमा रहँदा कुनै पनि राजनीतिक नियुक्ति गर्नुपर्दा Integrity Vetting System अनिवार्य लागू गर्नेछौँ।
१०) सामाजिक सञ्जालमा सक्रिय पार्टी सदस्यलाई संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सीमालाई असर नगर्ने गरी एक निश्चित आचारसंहिताको स्वघोषणाका लागि प्रेरित गर्नेछौँ।
११) देशभरका पार्टी कार्यालयलाई नागरिक संवाद केन्द्र बनाउने क्रम सुरु गर्नेछौँ।
१२) सार्वजनिक पद र निजी व्यावसायिक स्वार्थबीच उत्पन्न हुन सक्ने द्वन्द्व व्यवस्थापनका लागि स्पष्ट कानुनी संरचना निर्माणको पहलकदमी लिनेछौँ।
१३) पार्टीको सदस्य कहीं पनि कुनै सार्वजनिक संस्थाको नेतृत्वमा पुगिरहेको अवस्थामा पार्टीको हित होइन, सम्बन्धित संस्थाको बृहत्तर हितमा समर्पित हुन प्रेरित गर्नेछौँ।
१४) पार्टीको परिमार्जित विधानबमोजिम ३५ वर्षमुनिका जागरुक नवयुवाहरूलाई लोकतान्त्रिक संस्कृतिमा आएको क्षयको बाछिटाबाट जोगाउँदै स्वस्थ लोकतान्त्रिक संस्कृतिका अभियन्ताका रूपमा विकास गर्नेछौँ।
१५) नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँछौँ।