सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ।
सो कार्य अघि बढाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको जानकारी दिए।
सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा क्रिकेट र फुटबल मैदानका साथै कभर्ड हलहरू निर्माण गरिनेछ।
पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा गरिएको छ।
मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि २७ वटा महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गरे।
उनले भने, ‘पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच हालै एमओयू भएको छ। त्यसअन्तर्गत देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि बढाइएको छ। देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरू गर्नु महत्वपूर्ण सुरूआत हो।’
यो परियोजनाले क्षेत्रीय तथा स्थानीय स्तरमा खेलकुदको विकासलाई टेवा पुर्याउने सरकारको दाबी छ।
सरकारले आगामी दिनमा थप पूर्वाधारको क्षेत्रमा लगानी विस्तार गर्ने नीति लिएको पनि मन्त्री पोखरेलले स्पष्ट पारे।
अहिले छनोट गरिएका स्थानहरूमा तत्काल काम सुरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। – न्युज एजेन्सी नेपाल