नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि एलिजा ढकालले पार्टीको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उनले ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। कांग्रेसमा हरेक प्रदेशबाट ३ जनाको दरले कूल २१ जना ३५ वर्षमुनिका केन्द्रीय सदस्य रहने व्यवस्था छ।
ढकालले कांग्रेस अहिले पुनर्जागरणको मार्गमा रहेको बताउँदै पार्टीभित्र सांगठनिक परिवर्तन र रूपान्तरण आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनले आम कार्यकर्ता र शुभेच्छुकले चाहेको परिवर्तनअनुसार कांग्रेसले विगतका नीतिगत कमजोरी सच्याउँदै लोकतन्त्रप्रति निष्ठावान जनमानसमा देखिएको विकर्षणलाई पुनः आकर्षणमा बदल्नुपर्ने बताएकी छन्।
युवाको नाममा देशभर अराजकता बढिरहेको अवस्थामा सचेत, क्षमतावान र राजनीतिक संस्कारसहितका युवाको बलियो हस्तक्षेप आवश्यक रहेको ढकालको भनाइ छ।
उनले पुस्ताबीच फाटो नभई सहकार्य र सहअस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्। ‘घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाँध्न जरूरी छ,’ उनले भनेकी छन्।
सांगठनिक परिवर्तन र पुनर्जागरणसँगै कांग्रेसका आधारभूत मान्यतामा अविचलित र सिद्धान्तनिष्ठ पार्टी निर्माण गर्ने अभियान आवश्यक रहेको बताउँदै ढकालले त्यस अभियानलाई घनीभूत बनाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको स्पष्ट पारेकी छन्।
उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन अग्रज तथा समकालीन महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, अभिमत र शुभेच्छाका लागि आग्रहसमेत गरेकी छन्।